विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं- ज्योति विकास बैंकले नुवाकोटको एक माध्यमिक विद्यालयलाई इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नुवाकोटको विदुर नगरपालिका ५ को देवीघाट स्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको हो ।
बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरु प्रदान गरेको जनाएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरु औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नरेश राज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोललगायत बैंकका पधाधिकारीहरु, विद्यालयका कर्मचारीहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरुको कक्षा सञ्चालन समेत गर्ने भएकाले सो स्मार्टबोर्डहरुद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ ।