Logo

नेशनल लाइफ ३७औं वर्षमा

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । देशभरमा ५३ वटा बाल र वृद्ध आश्रममा खाना खुवाउने कार्यक्रम आयोजनासमेत गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीनलाई सेतो छडि वितरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको दावी गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरी सकेको छ ।

जीवन बीमा कोषमा ७१ अर्बको हाराहरीमा रकम जम्मा भएको कम्पनीको दावी छ । आर्थिक वर्ष २०७८/०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७८/०७९ को बीमांकीय मूल्यांकन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको बताइएको छ ।

कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत छन् । कम्पनीले पुस मसान्तसम्म बीमाशुल्क आम्दानी १०२ अर्ब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र ३७ अर्ब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्