Logo

पूर्वाधार विकास र ऐन कानुन निर्माणमा तिला अब्बल

जुम्ला– जुम्लाको तिला गाउँपालिका नीति निर्माण र पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये पूर्वाधार निर्माण तथा ऐन कानुन निर्माणमा तिला जिल्लाकै अब्बल देखिएको हो । तिला गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा एक दर्जन ठूला योजना निर्माण प्रक्रिया थालेको छ ।

संघीय सरकार तथा प्रदेश सरकारको सहयोगमा चालू आवमा एक दर्जन ठूला योजना ठेक्कामार्फत निर्माण गर्न लागेको हो । बिहीबार आयोजित १३औं हिउँदे गाउँसभाको अवसरमा तिलामा चालु आवमा ठेक्कामार्फत निर्माण हुने योजना, नयाँ निर्माण भएका नीति, हालसम्म निर्माण भएका ऐन कानुन, बजेट खर्चलगायतको विवरण गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरिन् ।

मानव विकासका हरेक सूचकांकमा कमजोर रहेको तिलाको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि आवश्यक १२ वटा योजना ठेक्कामार्फत निर्माण गर्न थालिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनका अनुसार गाउँसभाको १३औं अधिवेशनबाट १४ वटा विभिन्न नीति, कार्यविधि र निर्देशिका पारित भएका छन् ।

चालु आवमा निर्माण हुने ठूला योजनाको बोलपत्र आह्वान भई ठेक्का सम्झौता भएर पनि निर्माण प्रक्रियामा रहेका छन् । नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयन, सेवा प्रवाहमा चुस्तता, विकास निर्माणलाई गति दिन, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर बनाउन र तिलालाई समग्र जिल्लाको अब्बल पालिका बनाउन तैनाथ रहेको प्रशासकीय अधिकृत बुढ्थापाले प्रतिबद्धता व्यक्त गरे ।

मानेचौरदेखि रिपिसम्म सडक निर्माण, कुडारी बजारदेखि डुंग्रीसम्म सडक स्तरोन्नति, सरस्वती माविको आठ कोठे पक्की भवन निर्माण, ज्योति मावि पक्की भवन निर्माण, देउराली मावि ८ कोठे पक्की भवन, देवीदेउराली आवि ६ कोठे पक्की भवन, राँसोदेखि नदै गुफासम्म सडक निर्माण योजना रहेका छन् ।

त्यस्तै तिह हुँदै घोडेसिमसम्म कृषि ग्रामीण सडक निर्माण, तिलचौरदेखि लासीसम्म तटबन्धन निर्माण, ग्रामीण कृषि सडक सडक रारादेखि घोडे सुडि मानेचौर राँसा हुदैँ खोप्री सडक स्तरवृद्धि, रारादेखि पुरु जुम्लाकोट हुँदै मानेचौर सडक स्तरोन्नति र सिता मावि पक्की भवन निर्माण गरी १२ वटा योजना ठेक्कामार्फत चालु आवमा निर्माण हुनेछन् ।

१४ वटा नीति पारित
१३ औँ गाउँसभाबाट विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०८०, सडक आश्रित मानव उद्धार पुन:स्थापना तथा व्यवस्थापन कार्यविधि–२०८०, बालमैत्री आचारसंहिता कार्यविधि–२०८०, बालविवाहसम्बन्धी रणनीति योजना–२०८०, बालबालिकासम्बन्धी पञ्चवर्षीय रणनीतिक योजना–२०८० पारित भएको छ ।

त्यस्तै, विपन्न नागरिक उपचार सहायता कार्यविधि–२०८०, भवन निर्माण मापदण्ड कार्यविधि–२०८०, जग्गाको वर्गीकरण कार्यविधि–२०८०, तिला गाउँपालिका शिक्षा नियमावली–२०८०, स्थानीय विपद तथा जलवायु उत्थानशील योजना–२०८० र तिला गाउँपालिकाको अवकाश कोष कार्यविधि–२०८० सहित १४ वटा नीति पारित भएका छन् ।

साथै तिला गाउँपालिकाले हालसम्म २० वटा ऐन, ४ वटा नियमावली, १६ वटा कार्यविधि, २ वटा निर्देशिका र १ नीति गरी कुल ४३ वटा ऐन कुन निर्माण भई राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल बुढाले कानुन निर्माण बिना विकास निर्माणदेखि सेवा प्रवाहमा कठिनाइ हुने भएकोले कानुन निर्माणमा पहिलो प्रथामिकता दिएको बताए । उनका अनुसार कानुन निर्माणपछि भौगोलिक रूपमा विकट तिलामा पूर्वाधार विकासलाई जोड दिइएको छ ।

उपाध्यक्ष गोरीकला बुढाले नागरिकको सेवा सन्तुष्टिलाई मुख्य प्राथमिकता राखेर काम गर्दै आएको बताइन् । ‘मानव विकासका विभिन्न सूचकांकमा तिला कमजोर छ,’ उनले भनिन, ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रमा सन्तोषजनक नतिजा ल्याउने गरी काम गर्नु पर्नेछ । यसमा सबैको नि:स्वार्थ भूमिका हुनुपर्छ । विकट तिलाको पूर्वाधार विकासका लागि गाउँसभाबाट संघ र प्रदेशमा १४ वटा योजना माग गरी पठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्