Logo

वैदेशिक रोजगारीका उजुरी बढे

बिर्तामोड– वैदेशिक रोजगारी सम्बन्धी उजुरी दिनेको संख्यामा वृद्धि भएको छ । सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरी पैसा असुल्न थालेको कारण व्यक्तिगत ठगीको उजुरी बढेको हो ।

झापास्थित आप्रवासी श्रोत केन्द्रमा चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न प्रकृतिका ३१ वटा उजुरी दर्ता भएका छन् । आप्रवासी श्रोत केन्द्रमा वैदेशिक रोजगारी सम्बन्धी ठगी, फरक काममा लगाइदिने, नेपालमा मेडिकल ठीक भए पनि विदेश पुगेपछि रिपोर्ट खराब भएको भन्दै फर्काइदिने गरेको उजुरी आएको छ ।

त्यसैगरी पैसा पासपोर्ट लैजाने, समयमा नउडाउने, पासपोर्ट लगे पनि फिर्ता नगर्नेलगायतका ठगी मुद्दा दर्ता भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले बताए । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अनुसार कुल दर्ता भएका उजुरीमध्ये छलफल गर्दा ठगी भएको रकम १४ लाख रुपैयाँ सम्बन्धित पीडितहरुलाई फिर्ता गरिएको उनले बताए ।

अधिकतम ठगीका घटना मेचीनगर नगरपालिकाका रहेको छ । वैदेशिक रोजगारमा जानेको संख्या झापाको अन्य पालिकाको तुलनामा मेचीनगर नगरपालिकाका बढी रहेको छ । ठगीका घटना पनि मेचीनगर नगरपालिकामा बढी रहेको बुढाथोकीले बताए । सामी कार्यक्रमअन्तर्गत २०८०/८१ को ६ महिनाको अवधिमा २ हजार ७०० महिला र ५ हजार १०० पुरुष गरी कुल ७ हजार ८०० जनालाई सूचना परामर्श प्रदान गरिएको उनले बताए ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विस सरकारबीच भएको दुईपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम ३८ जिल्लाका १५६ स्थानीय तह, कोशी प्रदेशको ८ जिल्लाका ३२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने सम्भावित कामदार, रोजगारीमा रहेका, रोजगारीबाट फर्केका कामदारका परिवार सदस्यहरु सामी कार्यक्रमका लाभान्वित सेवाग्राही रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्