लोडसेडिङ तालिका सार्वजनिक गर्न माग
भैरहवा– बिना जानकारी विद्युत कटौती भएको भन्दै लुम्बिनी प्रदेशअन्तर्गतका उद्योगहरुले लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका छन् । बिना जानकारी अघोषित तबरबाट विद्युत कटौती र अनावश्यक ट्रिपिङले उद्योगहरुमा समस्या भएको भन्दै उनीहरुले तालिका सार्वजनिक गर्न माग गरेका हुन् । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अघोषित लोडसेडिङ भएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेमा रहेका ठूला उद्योगहरुमा बिना जानकारी विद्युत कटौतीले ठूलो समस्या पारेको शर्माले बताए । समस्याबाट पीडित उद्योगी व्यवसायीले दिनहुँ जानकारी गराउने र विद्युत प्राधिकरणबाट माथिबाटै कटौती भएको जवाफ आउने गरेको शर्मा बताउँछन् । ‘हामीहरुको माग सहज रुपमा विद्युत उपलब्ध हुनु पर्यो भन्ने नभइ घोषित रूपमा लोडसेडिङ तालिका दिनु पर्यो भन्ने छ’, शर्माले भने ।
लुम्बिनी प्रदेशमा पूर्वाधार विकास सम्बन्धी सिमेन्ट, छड, स्टिल, कर्कट पाता, टायल, फोम, प्लाइउड, प्लास्टिक, पेन्टलगायत मात्र नभई मैदा, चामल, चाउचाउ, चिउरा, रिफाइनरी आयल, हल्का पेय पदार्थ, मदिरा एवं बियर, कागज, जुत्ता, औषधी, सवारी साधनअन्तर्गत मोटरसाइकलको एसेम्बल प्लान्टलगायत दर्जनौं ठूला उद्योग छन् । मझौला तथा साना उद्योगहरु पनि प्रशस्तै रहेका छन् । सबै प्रकृतिका उद्योग व्यवसायमा अहिले विद्युत समस्या रहेको छ ।
आर्थिक मन्दी र माग नभएको कारण उद्योगहरु क्षमताको ३० प्रतिशतको हाराहारीमा सञ्चालनमा रहेका छन् । अनियमित विद्युत कटौतीले थप समस्या सिर्जना भएको उद्योगीहरुको भनाइ छ । भैरहवा वरपरका क्षेत्रमा साना ठूला गरी दर्जनौं उद्योगहरु विद्युत अनियमित हुँदा समस्यामा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । ‘उद्योगी व्यवसायीहरु दिनहुँ समस्या लिएर आउँछन्, विद्युत प्राधिकरणले लोडसेडिङ होइन माथिबाटै कटेको भनेर जवाफ फर्काउँछ,’ अध्यक्ष श्रेष्ठले भने ।
यो क्षेत्रमा दैनिक ८ घण्टासम्म विद्युत जाने गरेको उनले बताए । ‘हिउँद महिनामा विद्युत उत्पादन कम हुन्छ । हामी सबैलाई थाहा छ, तर अहिले डेडिकेटेड र ट्रंक लाइनको तत्कालिन समस्याको प्रतिशोध साध्न उद्योगमा बिना जानकारी लाइन कटौती गरेको महसुस भएको छ,’ अध्यक्ष श्रेष्ठले भने । चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा रहेको बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिका सञ्चालक रौनक अग्रवाल अनियमित विद्युतका कारण समस्या भएको बताउँछन् । ‘माग नहुँदा उद्योगको क्षमता निकै कममा चलेको छ, त्यसमा पनि विद्युत नियमित नहुँदा समस्या छ,’ अग्रवाल बताउँछन् ।
उनका अनुसार बिहान बेलुका गरी कम्तिमा ८ घण्टा विद्युत गइरहेको छ । विद्युत जाने कुनै तालिका नभएकाले उद्योग सञ्चालन कति बेला गर्ने, सिफ्ट कसरी बनाउने भन्ने समस्या रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको औद्योगिक करिडोरमा धेरै उद्योग स्थापना छन् । उक्त करिडोरमा विद्युत समस्या रहेको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले विद्युत अनियमित हुँदा यहाँ रहेका ठूला उद्योग मात्र नभइ मझौला एवं साना उद्योगहरुमा पनि समस्या रहेको बताए ।
‘विद्युत कति बेला जान्छ थाहा हुँदैन, लोडसेडिङ जस्तै गरी विद्युत गइरहेको छ’ अग्रहरीले भने । कुनै उद्योगमा विद्युत कटौती हुना साथ उत्पादन गर्दै गरेका सामग्रीहरु बिग्रने गर्छन, खासगरी खाद्य पेय पदार्थ डाइपर प्लास्टिकजन्य वस्तुलगायतमा यो समस्या रहेको उनको भनाइ छ । डाइपर उद्योगमा एक पटक विद्युत जादा कम्तिमा २० हजार रुपैयाँ नोक्सानी हुने गरेको छ । सोही कारण तालिका सार्वजनिक गरेर विद्युत काटियोस भन्ने माग रहेको अग्रहरीको भनाइ छ ।
‘उद्योगहरु नचलेर बन्दका अवस्थामा छन्, त्यसमाथि अघोषित लोडसेडिङले समस्या थपेको छ । विद्युत नियमित नहुँदा अतिरिक्त समस्या थपिएको छ,’ चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले भने । विद्युत कति बेला जान्छ थाहा हुँदैन । उद्योग चलिरहँदा उत्पादन भएका वस्तु बिग्रेर नोक्सानी हुने र कर्मचारी मजदुर कति बेला कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको पाण्डे बताउँछन् । कपिलवस्तुको चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा सिमेन्ट, छड, प्लाइउड, मैदा, चामललगायतका दर्जनाैं उद्योगहरु विद्युत अनियमित हुँदा पीडित भएका छन् ।
भैरहवा बुटवल औद्योगिक करिडोरमा रहेको यशोधा फुड्का सञ्चालक श्रवण बेरीवाल विद्युत अघोषित लोडसेडिङले समस्या आएको बताउँछन् । चाउचाउ जस्तो तयारी खाद्य वस्तु उत्पादन गर्दै आएको उद्योगमा उत्पादन भइरहँदा एक्कासि विद्युत जाँदा उत्पादन भइरहेका खाद्य बस्तु बिग्रने गरेको उनको भनाइ छ । बिहान बेलुका गरी ८ घण्टा विद्युत कटौती भइरहेको पञ्चकन्या स्टिल उद्योगका महाप्रबन्धक देबेन्द्र शाहुले बताए ।
‘हामीले नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुखलाई पनि भेट्यौं, हामीले होईन विद्युत भार बहन व्यवस्थापनका लागि माथिबाटै कटौती भएको जवाफ पाइयो,’ महाप्रबन्धक साहुले भने । अन्य समयमा पनि विद्युत गइरहन्छ, विशेष गरी स्टिल र प्लास्टिक उद्योगमा उत्पादन भइरहेको क्रममा विद्युत जादा उत्पादित वस्तुहरु बिग्रने भएकाले नोक्सानी बढ्ने गरेका र फेरि उद्योग सुचारु गर्न समय लाग्ने भएकाले समस्या आएको उनको भनाइ छ ।
विद्युतका लागी वैकल्पिक व्यवस्था गर्न पनि समस्या रहेको साहुले बताए । ‘२५ देखि ३० प्रतिशत क्षमतामा उद्योग चलेको छ, त्यसमाथि विद्युत समस्या अचाक्लि छ,’ उनले भने । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले विद्युतमा समस्या रहेको बताए । विद्युत अनियमित हुँदा थप समस्या सिर्जना भएको छ । उद्योगीहरुले विद्युतमा समस्या रहेको गुनासो बारम्बार गर्छन् । विद्युत अफिसले विद्युत लोड मिलाउन माथिबाटै काटिएको जवाफ दिन्छ ।
प्लास्टिक उद्योगहरुमा विद्युतका कारण समस्या बढी हुन्छन् । उत्पादन हुँदा हुँदै विद्युत जादा प्लास्टिकका सामान बिग्रने मात्र नभइ ती उपकरण तात्नलाई कम्तीमा १ घण्टा लाग्ने भएकाले समस्या रहेको छ । लुम्बिनी प्रदेशमा विद्युत समस्याका विषयमा जानकारी माग्दा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख इन्जिनियर हरि पाण्डेले विद्युत उत्पादन कमी भएकोले विद्युत भारत व्यवस्थापन मिलानका लागि विद्युत कटौती भएको बताए ।