Logo

संस्थागत निक्षेपकर्तालाई चैतदेखि १ प्रतिशत कम ब्याज

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षपकर्तालाई दिनेभन्दा संस्थागत निक्षेपकर्तालाई १ प्रतिशतभन्दा कम ब्याज दिनुपर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै व्यक्तिगतभन्दा १ प्रतिशत कम मात्रै संस्थागत मुद्दतिमा ब्याज दिन पाउने व्यवस्था चैत १ गतेदेखि लागू गरेको हो ।

‘संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ, उपयुक्त बमोजिमको व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ,’ राष्ट्र बैंकको नियमन विभागले जारी गरेको परिपत्रमा भनिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिएको ब्याजभन्दा संस्थागत मुद्दति निक्षेपमा २ प्रतिशत कम ब्याज दिँदै आएका छन् ।

पछिल्लो समय बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर तीव्र गतिमा घटाइरहेका थिए । जसले गर्दा संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत कम ब्याज दिँदा हुन्थ्यो । अब भने १ प्रतिशत कम ब्याज दिँदै संस्थागत निक्षेप राख्नु पर्नेछ । हाल बैंकिङ क्षेत्रमा भएको कुल निक्षेपको ५९.९ प्रतिशत मुद्दति निक्षेप छ । बैंकिङ क्षेत्रमा भएको कुल मुद्दति निक्षेपमा संस्थागत निक्षेपको अंश बढी भएकाले आगामी दिनमा निक्षेपको लागत बढ्ने छ । जसले आधार दर घट्ने क्रम रोकिने छ भने ब्याजदर थप नघट्ने अपेक्षा गरिएको छ ।

यस्तै, राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी ब्याज दिन नपाउने व्यवस्था हटाएको छ । एकीकृत निर्देशनमार्फत बैंक वित्तीय संस्थाले प्रकाशित गरेको व्याजदरमा ०.५ प्रतिशतभन्दा बढी नहुने गरी बोलकबोल विधिबाट निक्षेप संकलन गर्नुपर्ने व्यवस्था हटाएको हो । यो व्यवस्था हटाएसँगै बोलकबोल विधिबाट संकलन हुने मुद्दती निक्षेपमा बैंकहरुले प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिने गरी प्रस्ताव गर्न सक्ने छन् ।

हाल बैंकले पत्रिकामा प्रकाशित गरेको ब्याजभन्दा बढीमा ०.५ प्रतिशत ब्याज दिने गरी प्रस्ताव पेश गर्नुपर्छ । राष्ट्र बैंकले गरेको संशोधनले संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने छ । सरकारी निकायले बोलकबलबाट मात्र निक्षेप राख्ने गर्छन् । पत्रिमा प्रकाशितभन्दा फरक ब्याजदर प्रस्ताव गर्न पाउँदा बैंकहरुले आफ्नो आवश्यकता अनुसार ब्याज दिँदै निक्षेप संकलन गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्