Logo

पीडितको आन्दोलनले घेरियो राजधानी

काठमाडौं– दूध किसानसँग सम्बन्धित विभिन्न संघसंस्थाले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी दूध बेचेको पैसा नपाए आन्दोलन गर्ने चेतावनी दिए । २३ दिन हिँडेर बुधबारमात्र काठमाडौं आएका मिटरब्याज पीडितहरुले धर्ना दिन सुरु गरेका छन् । यी उदाहरणमात्र हुन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौं पीडित आन्दोलनकारीले घेरिएको छ । अहिले राजधानीमा सहकारी बचतकर्ता, मिटरब्याजी, दूध किसान, लघुवित्त पीडितलगायत आन्दोलनमा छन् ।

दूध किसानहरुले करिब ६ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले संयुक्त रूपमा १६ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका हुन् । किसानले दूधको बक्यौता भुक्तानी हुनुपर्ने, उत्पादित दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, बिक्री मूल्य निर्धारण हुनुपर्ने, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयातबारे प्रभावकारी छानबिन र अनुगमन गरी बन्द गर्नुपर्ने माग राखेका छन् । यस्तै, दूध तथा दुग्धजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाउने माग गर्दै उनीहरु बिहीबारदेखि आन्दोलित बनेका छन् ।

दूध किसानका अनुसार केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री हुन सकेको छैन । यस्तै, बिक्री भएको दूधमध्ये करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थानलगायत निजी डेरी उद्योगले दिएका छैनन् । नेपालमा हाल दैनिक करिब ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुन्छ । दूध उत्पादनमा करिब ३० लाख घरपरिवार प्रत्यक्ष–अप्रत्यक्ष संलग्न छन् ।

मिटरब्याज पीडित
गत चैतमा लामो समय आन्दोलन गरी घर फर्केका मिटरब्याज पीडित पुनः काठमाडौं आइपुगेका छन् । मिटरब्याजी पीडितललाई यसअघि सरकारले न्याय दिइने भन्दै आश्वासन दिएर घर फर्काएको थियो । सरकारले न्याय दिने आश्वासन दिएको करिब वर्ष दिन हुन लाग्दासम्म न्याय नपाएपछि मिटरब्याज पीडित २३ दिन पैदल हिँडेर न्यायका लागि आन्दोलन गर्न फेरि बुधबार साँझ काठमाडौं आइपुगेका हुन् ।

पीडितले बिहीबार माइतीघर मण्डलामा कार्यक्रमसमेत गरेका छन् । विगतका आन्दोलनमा सरकारले न्यायको आश्वासनमात्र दिएको भन्दै उनीहरुले अब भने माग पूरा नभएसम्म काठमाडौंबाट घर नफर्कने बताएका छन् । मिटरब्याज पीडित यसअघि गत वर्ष चैतमा ११ दिन पैदल हिँडेर काठमाडौं आएका थिए । यस वर्ष २३ दिन हिँडेर काठमाडौं आइपुगेका छन् ।

सहकारी बचतकर्ता पीडित
सहकारी बचतकर्ताको बचत रकम फिर्ता गराउन गत साउन १८ गते सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता फागुन ६ गतेदेखि आन्दोलनमा छन् । सरकारले ७ बुँदे माग कार्यान्वयन नगर्दासम्म आन्दोलन जारी राख्ने बचतकर्ता पीडितहरुको भनाइ छ । सरकारले फागुन मसान्तसम्म सहकारी बचतकर्ताका माग कार्यान्वयनमा बेवास्ता गरे चैत १ देखि काठमाडौंमा विशाल आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

बचतकर्ता पीडित सरकारसँग गरेका ७ बुँदे सम्झौता कार्यान्वयन गर्न दबाब दिन फागुन ६ देखि सहकारी विभागको प्रांगणमा धर्नामा बसेका छन् । माग कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने सहकारी पीडित महासंघका अध्यक्ष तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीको भनाइ छ । केसीका अनुसार देशभर ७४ लाख सहकारी बचतकर्ता छन्, जसमा १४ लाख बचतकर्ता बचत फिर्ताका लागि आन्दोलनमा सहभागी छन् । यसअघि पीडितहरुले ६३ दिन लामो आन्दोलनपछि सरकारसँग ७ बुँदे सहमति गरी आन्दोलन स्थगित गरेका थिए ।

सरकार र बचतकर्तासँग बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटो छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । यसैगरी सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन मन्त्रिपरिषद्बाट गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ता सदस्यको अधिकतम हित संरक्षण लगायतका सहमति भएका थियो ।

ऋण मिनाहाको माग राख्दै आन्दोलित
करिब एक वर्षदेखि बैंक तथा लघुवित्तको ऋण मिनाहा हुनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा पनि काठमाडौंमा आन्दोलन भइरहेको छ । बैंक तथा लघुवित्तको चर्को ब्याजले साना तथा मझौला व्यवसायीले ऋणमा डुबेर सडकमा आउनुपरेको भन्दै २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने माग आन्दोलनकारीको छ ।

ट्याक्सी व्यवसायी पनि विरोधमा
ट्याक्सी व्यवसायीहरुले बुधबार काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । सरकारले विद्युतीय ट्याक्सीमा छुट नदिएको भन्दै व्यवसायीले आन्दोलन गरेका हुन् । सरकारले क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी भित्र्याउने निर्णय लिएको भन्दै व्यवसायीले बुधबार काठमाडौंको तीनकुनेमा र्‍यालीसहितको विरोध गरेका थिए ।

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय ट्याक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन माग गर्दै व्यवसायीले आन्दोलन सुरु गरेका हुन् । सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्