Logo

रक्तचन्दन फिर्ता लैजान भारतको आलटाल

काठमाडौं– रक्तचन्दन काठ ‘उत्पादन भएको मुलुक’ भारत फिर्ताका लागि स्वीकृत भइसके पनि फिर्ता लान भारतले आलटाल गरेको छ । भारत सरकारले फिर्ता लाने भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराइएको ७ महिना बितिसक्दा पनि हालसम्म रक्तचन्दन नेपालमै अलपत्र अवस्थामा छ । सो रक्तचन्दन विभिन्न समयमा चीन लाने क्रममा नेपालमा पक्राउ गरिएको हो ।

भारतबाट तस्करी गरेर ल्याइएको प्रमाणित भएपछि नेपालले भारतलाई रक्तचन्दन फिर्ता गर्नुपर्ने दायित्व रहन्छ । भारतले फिर्ता नलगेपछि रक्तचन्दनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा वन तथा वातावरण मन्त्रालय अन्योलमा रहेको छ । ‘काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको छ’ गत साउनमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा उल्लेख छ ।

सरकारले विभिन्न जिल्लाबाट बरामद गरेको रक्तचन्दन फिर्ताका लागि लामो समयसम्म भारतले चासो नदिएकाले नेपालमै सड्ने अवस्थामा पुगेको वन विभागको भनाइ छ । मन्त्रिपरिषद्बाट निर्णय भएको ९० दिनभित्र फिर्ता लानुपर्ने कानुनी व्यवस्था भएपनि निर्णय भएकै ७ महिना नागिसक्यो । मन्त्रालयले फेरि पनि भारत सरकरासँग रक्ताचन्दन फिर्ता लैजाने विषयमा छलफल गर्ने तयारी गरिरहेको छ ।

मन्त्रालयका प्रवक्ता भद्रीराज ढुंगानाले भारतले रक्तचन्दन फिर्ता लिन ढिलाई गरेपछि यसको व्यवस्थापन बारे थप छलफल गरेर अगाडि बढ्ने बताएका छन् । ‘भारतले रक्ताचन्दन फिर्ताका चासो देखाउँदै ६ महिनाको समय माग गरेको थियो, तर नियमअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको ९० दिनभित्र फिर्ता लगिसक्नुपथ्र्यो’ उनले भने, ‘फेरि भारत सरकारसँग एकपटक छलफल गरेर रक्तचन्दन फिर्ता लाने या नलाने ? भन्ने विषयमा थप छलफल गर्नेछौं ।’

सरकारले वि.सं २०७६ पुस २८ गते पनि परराष्ट्र मन्त्रालयमार्फत भारतलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम स्वीकृति दिएको थियो । वन मन्त्रालयको तथ्यांकअनुसार करिब एक लाख ७३ हजार किलोग्राम रत्तचन्दन भारत फिर्ता लैजान मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।

‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ मा नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमुना फिर्ता लैजानुपर्ने कानुनी व्यवस्था छ । भारत फिर्ताका लागि प्रस्ताव स्वीकृत भएर पनि नेपालमै रहँदा कसरी जोगाउने भन्ने चुनौती छ रहेको र सुरक्षाका लागि सशत्र वन रक्षक खटाउनु परेको छ ।

विभागका महानिर्देशक शिव वाग्लेले पनि भारतले फिर्ता लानका लागि चासो देखाए पनि नियमानुसारभन्दा बढी समय माग गरेकाले समस्या भएको बताए । ‘विभिन्न समयमा भारतबाट ल्याइएको रक्तचन्दन नेपाली भूमिमा पक्राउ गरिएको थियो, भारतकै पहिचान भएपछि भारतलाई फिर्ता गर्नुपर्ने हुन्छ र फिर्ता नभएमा जलाउनुपर्ने नीतिगत व्यवस्था छ’ उनले भने, ‘भारतले फिर्ता लान चासो देखाउँदै अनुगमन समेत गरेको थियो, तर फिर्ता लानुपर्ने समय गुज्रिएको छ, यस विषयमा थप छलफल हुने छ ।’

नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो । रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो । महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो । काठमाडौं, भक्तपुर ललितपुर, रसुवा सिन्धुपाल्चोक, काभ्रे लगायतका २० जिल्लामा रक्तचन्दन कुहिने अवस्थामा रहेको छ ।

धेरै जसो रक्तचन्दन भारतबाट तस्करी गरी नेपालको बाटो हुँदै चीनमा बिक्री गर्न लैजाने क्रममा नेपालमा पक्राउ गरिएको थियो । चीनको बजारमा प्रति केजी १३ हजार भन्दा बढी मूल्यमा बिक्री हुने रक्तचन्दनबाट राम्रो आम्दानी हुने भएकाले तस्करीमार्फत चीनतर्फ ओसार पोसार गरिन्छ । अन्तर्राष्ट्रिय महासन्धि साईटीसले विश्वमा लोपोन्मुख वनस्पतिको सूचीमा परेको रक्तचन्दन बिक्री वितरण गर्न प्रतिबन्धित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्