Logo

मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा’

बिर्तामोड– वर्षाैंदेखि हात्तीको पीडा खेप्न बाध्य स्थानीयसँग भेटघाटका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरेका छन् ।

कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘जीव जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ नेपाल–भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरेका हुन् ।

हात्तीको परम्परागत जैविक मार्गको पुन:स्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्या समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरिएको हो ।

कोशी प्रदेश सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल, उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको बताउँदै मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको जानकारी दिए । जनता र हात्ती दुवैलाई दु:ख नहुनेगरी समस्या समाधान खोज्न गाउँबस्तीमा आएको बताउँदै उनले जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान रहेको जनाए ।

मुख्यमन्त्री कार्कीले जनता र हात्ती दुवैलाई दु:ख नहुने गरी समस्या समाधान खोज्न आफूहरु गाउँ बस्तीमा आएको र हात्तीपीडित जनतासँग छलफल गरेर योजना बनाउन र बजेट बनाउने बताए । हात्तीपीडितको समस्या पहिचान गर्ने प्रयास रहेको बताउँदै उनले जनताको दु:ख बुझ्न आएको जनाए । सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आएर दु:खको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने उनले बताए । सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रीकालीन विश्राम गर्ने र चार जिल्लाका विभिन्न २३ स्थानीय तह पुगेर स्थानीय जनतासँग साक्षात्कार गरी उनीहरुको समस्याबारे प्रत्यक्ष जानकारी लिने बताए । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताए ।

उनले मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको बताए । कोशी प्रदेशका चार जिल्लामा पछिल्लो पाँच दशकयता यी जिल्लामा जनसंख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको संकुचन र प्राकृतिक बासस्थानको क्षयीकरण भएकाले मानव–हात्ती द्वन्द्व बढेको उनको भनाइ छ ।

हात्तीको परम्परामा जैविक मार्गको पुनस्र्थापना तथा बासस्थान सुधार, संरक्षण गरी मानव–हाती द्वन्द्व न्यूनीकरण गर्न पनि यो पदयात्राले सघाउने र मानव–हात्ती सह–अस्तित्व कायम राख्न मद्दत पुग्ने उनले बताए । झापाको मेचीनगर बाहुनडाँगीबाट सुरु भएको पदयात्रा इलाम, झापा, मोरङ, सुनसरी हुँदै उदयपुर बेलसोत बजारमा फागुन १६ गते टुंगिने छ ।

पदयात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तय भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने र झापा, सुनसरी, मोरङ हुँदै उदयपुरसम्म पुगिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।
पछिल्लो समय झापामा मानव हात्तीबीच द्वन्द्व बढ्दै गएको बताउँदै उनले झापामा २०६७ यता हात्तीसँगको द्वन्द्वमा ६५ जना र २१ हात्तीको मृत्यु भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्