विराटनगरमा रेल्वे कम्पनीको शाखा कार्यालय

विराटनगर– नेपाल रेल्वे कम्पनी लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो ।
भारतको बथनाहा–कटहरी रेल्वे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसीपीसम्म कार्गो रेल सञ्चालनमा आइसकेको छ । तर, सञ्चालनमा समस्या भएपछि कार्यालय स्थापना गरेर सहजीकरण गरिने भएको छ । नेपाल रेल्वे सरकारी स्वामित्वको कम्पनी हो । जसले नेपालका रेलमार्गमा रेल सञ्चालन गर्दछ ।
मुख्यालय जनकपुरमा रहेको कम्पनीले अब विराटनगरमा शाखा कार्यालय स्थापना गरेर काम सुरु गरेको छ । विराटनगर शाखाका लागि प्रशासन सहायक छोटु यादवलाई खटाइएको छ । विराटनगर रेलवे शाखा कार्यालयको इन्चार्जको रुपमा यादवले काम अगाडि बढाउनेछन् । यादवले आफू तीन दिन आगाडि मात्रै आइपुगेकोले यहाँको अवस्था अध्ययन गरिरहेको बताए ।
उनले शाखा कार्यालय स्थापना गरेर कार्गो रेल सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी–व्यापारीले उठाएका विषय केन्द्र कार्यालयसम्म पुर्याउन सहजीकरण गर्ने र रेलमार्फत आयात हुने मालवस्तुका लागि भारतको रेलवे कम्पनीको कटिहार तथा बथनाहास्थित स्टेसनसँग सम्पर्कमा रहने जानकारी दिएका छन् ।