Logo

इजरायल सामान्यतर्फ, जान अझै समस्या

काठमाडौं– इजरायल र विद्रोही हमासबीचको युद्ध क्रमशः शिथिल हुँदै गएको छ । युद्ध फेरि नबढे तत्काललाई इजरायल जान ठूलो सुरक्षा चुनौती देखिँदैन । तर, नेपालले इजरायल प्रवेशमा लगाएको पुरानो प्रतिबन्ध भने फुकुवा गरेको छैन ।

परराष्ट्र मन्त्रालयले ५ महिनाअघि अध्यागमन विभागलाई पत्राचार गरेर इजरायल जाने नेपालीको भ्रमणमा रोक लगाउन अनुरोध गरेको थियो । त्यसयता जोकोहीले इजरायल जान पाएका छैनन् । इजरायलको भिसा भए पनि सजिलै जान पाइँदैन ।
अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले परराष्ट्र मन्त्रालयले इजरायल प्रस्थानमा लगाएको रोकलाई खुलाउन निर्देशन नदिएसम्म कानुनतः प्रतिबन्ध कायमै रहने बताए । सरकारले इजरायल जान लगाएको रोक कायमै रहँदा भिजिट तथा अन्य भिसामा इजरायल जाने नेपालीले कठिनाइ भोग्दै आएका छन् । कतिपय नेपाली त्रिभुवन विमानस्थलबाट फर्कन पनि बाध्य भएका छन् ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरुले भने भिजिट भिसा बाहेक अन्य भिसाबाट इजरायल जान रोक नलगाएको बताएका छन् । कार्यालय प्रमुख गोगनबहादुर हमालले भिजिट भिसामा इजरायल जान कडाइ गरिएको जानकारी दिए । उनका अनुसार भिजिट भिसामा इजरायल जाने नेपालीमध्ये यात्रा उद्देश्य प्रष्ट नभएकाहरु रोकिएका छन् ।
भिजिट भिषामा कडाइ भए पनि इजरायलमा रोजगारी, अध्ययन र अफिसियल भिसामा जाने नेपाली नियमित गइरहेको उनले जानकारी दिए । ‘इजरायल मात्र नभई अन्य देशको भम्रणमा जाने नेपालीको यात्रा उद्देश्य प्रष्ट नभए अध्यागमनले प्रस्थानमा रोक लगाउने गरेको छ,’ हमालले भने, ‘पछिल्लो समय विभिन्न मुलुकमा भिजिट भिषामा जानेको संख्या बढ्दै गइरहेको छ ।’

नेपालले ५ महिनाअघि विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका नेपाली नागरिकलाई तत्काल भ्रमण स्थगित गर्न अनुरोधसहित सूचना जारी गरेको थियो । यस्तै, वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपालीको हकमा श्रमस्वीकृति दिन रोक नलगाएको जानकारी दिएको छ । विभागका निर्देशक गोपालराज तिमल्सिनाले रोजगारीका लागि इजरायल जाने नेपाली नियमित रुपमा बिना अवरोध गइरहेको बताए । उनका अनुसार अहिले इजरायलमा कार्यरत १ हजार १ सय नेपाली नियमित रुपमा जाने आउने गरिरहेका छन् ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरुका अनुसार इजरायलमा स्थायी रुपमा काम गर्ने, अध्ययन अनुसन्धानमा संलग्न नेपालीहरु नियमित रुपमा आउने–जाने भइरहेको छ । हाल इजरायलमा ४ हजार ५ सयभन्दा बढी नेपाली अध्ययन तथा रोजगारीका लागि बस्दै आएका छन् ।

दुई वर्षअघि जिटुजी मार्पmत केयरगिभर लैजाने गरी श्रम सम्झौता गरेपछि इजरायलको श्रम बजारमा नेपाली कामदारको संख्या बढेको हो । नेपालीको संख्या बढेसँगै इजरायल ओहोरदोहोर गर्ने नेपालीको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय भिजिट भिसामा इजरायल प्रवेश गरेर त्यहाँ काम खोज्ने नेपाली बढेका छन् । यस्तो भिजिट भिसामा इजरायल जान भने सजिलो छैन ।

सरकारले इजरायल जान कडाइ गरेका बेला त्यहाँबाट थप नेपाली कामदारको माग आएको छ । यसअघि केयरगिभरमा छनोट भएर लट्रीमार्पmत फालिएका ४ सय २५ नेपाली अहिले इजरायल जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्