गरिबीको प्रमुख कारण बहुसंस्कृति «

गरिबीको प्रमुख कारण बहुसंस्कृति

विश्वमा कुनै देश धनी र कुनै देश किन गरिब छन् ? विश्वका १ सय ९८ देशमध्ये सबैभन्दा धनी देश कतारको प्रतिव्यक्ति आय १ लाख २९ हजार ७ सय २६ डलर छ । सबैभन्दा गरिब देश सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रतिव्यक्ति आय ६ सय ५६ डलर छ । यी दुई देशको प्रतिव्यक्ति आय १ सय ९८ गुणाले फरक छ । सानो क्षेत्रफल भएका मुलुकलाई छोड्ने हो भने सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश नर्वे हो । नर्वेको प्रतिव्यक्ति आय ५९ हजार २ सय ९६ डलर छ । यो पनि सेन्ट्रल अफ्रिकन रिपब्लिकको तुलनामा ९० गुणा बढी हो ।
गरिब देशहरूको अहिलेकै गति कायम हुने हो भने विकास असम्भवजस्तै छ । उदाहरणका लागि जिम्बाबे अहिलेकै गतिमा विकास हुँदै जाने हो भने २ हजार ७ सय २२ वर्षमा बल्ल धनी हुनेछ । त्यसैले गति बढाउन अत्यावश्यक छ । गति बढाउनका लागि बाधक तत्वलाई पन्छाउनुपर्छ । विकासलाई प्रभाव पार्ने मुख्य तत्वमा संस्था, संस्कृति र भूगोल मानिन्छ ।
ग्लोबल फाइनान्स म्यागजिनका अनुसार सन् २०१७ मा विश्वका ३० अति गरिब मुलुकमा २६ अफ्रिका महादेशमा पर्छन् । नेपाल (२८ औं) लगायत ४ मुलुक मात्र त्यो महादेशबाहिर छन् । म्यागाजिनका अनुसार विश्वका ३० धनी मुलुकमा १५ वटा युरोपमा पर्छन् । त्यसबाहेक अमेरिका, क्यानडा, जापानलगायत छन् । क्रयशक्ति समता अर्थात् पर्चेजिङ पावर प्यारिटी (पीपीपी) का आधारमा यो सूची तयार गरिएको हो; अर्थात् प्रतिव्यक्ति आय र त्यो ठाउँको उपभोग्य वस्तुको मूल्यका आधारमा तयार गरिएको सूची हो ।
अफ्रिकी मुलुक गरिब हुनुको कारण संस्कृतिको मोह हो । विगतमा कुनै स्थान विशेषमा केही मानिस बसोबास गरे । उनीहरूका अगुवाले तात्कालिक समयमा विभिन्न नियम बनाए । खाने, लगाउने, बस्ने, व्यवहार गर्ने, मनोरञ्जन गर्ने नियमका कारण अन्य स्थानमा बस्ने मानिसहरूभन्दा उनीहरू फरक भए । पुस्तौं त्यहीं बस्ने र त्यही नियमको अन्धभक्त भएर पालना गर्ने गर्दा उनीहरू आदिवासी जनजाति भए र उनीहरूको धर्म, संस्कृति र पहिचान निर्माण भयो ।
अमेरिकामा अन्य ठाउँबाट बसाइँ सरेर आएका मानिस छन् । बसाइँसराइ गर्ने मानिस संस्कृतिका अन्धभक्त हुँदैनन् र परिवर्तन स्वीकार गर्छन् । नेपालमा पनि विराटनगर विकसित छ, जनकपुर छैन । नारायणगढ र बुटवल विकसित छन्, भैरहवा र तौलिहवा छैनन् । काठमाडौंभित्र इन्द्रचोक र असन विकसित छैन, अनामनगर र नयाँ बानेश्वर विकसित छ ।
विकास परिवर्तन, आधुनिकता र प्रविधिबाट सम्भव हुने हो । कतिपय संस्कृतिमा क्षमता र मेहनत होइन, भाग्यमा विश्वास गर्ने गरिन्छ । यो विकासको बाधक हो । आफूले विश्वास गर्दै आएका कुराको कारण, तर्क, सान्दर्भिकता र प्रमाण नहेर्ने बानी विकासको बाधक हो । आदिवासी र जनजातिको अवधारणाले समाज र समुदायबीच सधैं मनुमुटाव, अस्वस्थ प्रतिस्पर्धा, द्वन्द्व, द्वेष उत्पन्न गर्छ ।
सानो क्षेत्रफल र जनसंख्या भएका धार्मिक मुलुक पनि धनीको सूचीमा छन् । यो अपवाद हो । अधिकांशतः धर्मनिरपेक्ष मुलुक नै धनी छन् । धर्म, संस्कृति, जातीय पहिचानलाई आधार मानेर राज्य सञ्चालन गर्नु भनेकै अन्धविश्वासलाई अंगीकार गर्नु हो । अफ्रिकामा यति धेरै चाडपर्व छन् कि मानिसहरूको महŒवपूर्ण समय त्यसमै खर्च हुन्छ । नेपालमा पनि जुन समुदाय जात्रापर्व, भोजभतेरबाट माथि उठ्न सकेको छैन, त्यो नै बढी गरिब छ ।
काठमाडौं उपत्यकाको नेवार संस्कृतिअनुसार सडकमा दैनिक खानेकुरा छोड्नुपर्छ । हिन्दू संस्कृतिअनुसार पूजा गरेको अवशेष नदीमा बगाउनुपर्छ । यस्तो प्रथा कायम राखेसम्म सडक र नदी कसरी सफा हुन्छ ? सबै समाजलाई जस्ताको तस्तै राखिराख्न सम्भव हुँदैन । केही प्रतिनिधिमूलक संरचना र स्थानको मात्र यथाअवस्थामा संरक्षण गर्नुुपर्छ । अरूलाई संग्रहालय र पुस्तकमा संरक्षण गर्नुपर्छ । विगतमा जनताका आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै विलासिताका लागि कुनै शासकले निर्माण गराएका संरचना प्राकृतिक प्रकोपले क्षति गरायो भने त्यसलाई जस्ताको तस्तै बनाउन बजेट खन्याउनु हाम्रो आर्थिक क्षमताअनुसार न्यायोचित हुन्छ ?
विकासलाई प्रभाव पार्ने अर्को तत्व इन्स्टिच्युसन (संस्था) अर्थात् शासकीय संरचना हो । बलिया संस्था भएका मुलुक धनी हुन्छन् भने कमजोर संस्था भएका मुलुक गरिब हुन्छन् । भ्रष्टाचार व्याप्त भएका मुलुक गरिब हुन्छन् । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक सबैभन्दा धनी मुलुकमा पर्छन् । भ्रष्टाचार हुने मुलुकमा जनताबाट उठाइएको राजस्व दुरुपयोग हुन्छ । भ्रष्टाचार नहुने मुलुकमा जनताबाट उठाइएको कर सुरक्षा, स्वास्थ्य, शिक्षा र यातायातमा लगानी गरिन्छ । नातावाद क्रिपावाद लागू गर्ने देश गरिब हुन्छन् । सक्षम र प्रतिस्पर्धी जनशक्तिलाई प्राथमिकता दिने मुलुक धनी हुन्छन् । नातावाद र क्रिपावादबाट नियुक्त गरिएका मानिसले राम्ररी काम गर्न सक्दैनन् र संस्थाहरू ढल्छन् ।
विकासलाई प्रभाव पार्ने अर्को पक्ष भूगोल हो । देशान्तर र समुद्री पहुँचले ठाउँविशेषको विकासलाई प्रभाव पार्छ । प्रायः गर्मी बढी हुने ट्रपिकल क्षेत्रमा गरिबी बढी हुन्छ । उत्पादन कम हुने हावापानी र वातावरण भएको मुलुक गरिब हुन्छ । गर्मीमा रोग, कीराहरू वृद्धि भएर मानिस, बालीनाली र पशुपन्छीको उत्पादकत्व कम हुन्छ । त्यस्तै भूपरिवेष्टित अर्थात् समुद्रमा पहँुच नभएका कारण पनि देश गरिब हुन्छ । यस्तो अवस्थामा सामानको ओसारपसार महँगो र ढिलो हुन्छ । त्यस्तै पेट्रोलियमलगायत प्राकृतिक स्रोत भएको देश धनी हुन्छ ।
देश धनी बनाउने प्रयास गर्ने दायित्व सरकारको हो । कुनै पनि देशलाई त्यो देश विकास हुन सक्ने सम्भव भएसम्मको धनी बनाउन सकिन्छ । संस्कृतिलाई सरकारले तुरुन्त र प्रत्यक्ष प्रभाव पार्न सक्दैन । भूगोललाई त सरकारले खासै केही गर्न सक्दैन । शासकीय संरचनामा सुधार गरेर विकासलाई गति दिन सकिन्छ ।
सैन्य सुरक्षा र ल एन्ड अर्डर राम्रो हुनुपर्छ । जातीय युद्ध, गृहयुद्धमा फसेको देश धनी हुन सक्दैन । शान्ति–सुरक्षा चुस्त भएको देशमा मानिसले अधिकतम उत्पादकत्वमा कार्य गर्न सक्छन् । संस्थामा भ्रष्टाचारमुक्त गर्नुपर्छ । कर प्रशासन र कर्मचारीतन्त्रलाई छिटोछरितो बनाउनुपर्छ । शिक्षित, चलायमान र मेहनती श्रमिक बजार हुनुपर्छ । उच्चस्तरको पूर्वाधार र सञ्चार सुविधा निर्माण गर्नुपर्छ । स्वस्थ, पारदर्शी र प्रतिस्पर्धी बजार हुनुपर्छ । स्वदेशी तथा विदेशी निजी कम्पनीले सहजै लगानी गर्न सक्ने गरी विश्वासिला सम्झौता गरिनुपर्छ । संस्थागत आय कर न्यून अर्थात् १० देखि १५ प्रतिशत हुनुपर्छ ।
जहाँ मानिसहरू काममा लाग्न चाहन्छन्, निष्पक्ष व्यवहार गर्छन्, कामले सम्बन्ध र नाता बनाउँछ, त्यहीं विकास हुन्छ । जहाँ केटाकेटीलाई स्कुल पठाइन्छ र पर्फमेन्स तथा उपलब्धिको आधारमा प्रशंसा गरिन्छ, सबैजसो केटाकेटीलाई स्कुलमै ‘मैले गर्न सक्छु’ भन्ने मनोबल बढाइन्छ, त्यहाँ देशका कर्णधार उत्पादन हुन्छन् ।
सस्तोमा सामान पाइने, उपभोक्ता सेवा राम्रो हुने, धेरै समय पसल खुल्ने, बिदा नहुने, उत्पादक र उपभोक्ता दुवैले उपभोक्ताकै दृष्टिकोणले सोच्ने, चौबीसै घण्टा समाचार थाहा पाउने टिभी च्यानल, अनलाइन र पत्रपत्रिका उपलब्ध हुने, मानिसहरू बिदामा पर्यटक बनेर हिंड्ने चलन सुरु भएको छ भने त्यो ठाउँ विकास हुने चरणमा छ भनेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्