बाँके र बर्दियाबाट पाँच हजार खसी पठाइँदै «

बाँके र बर्दियाबाट पाँच हजार खसी पठाइँदै

 
काठमाडौँको कलंकीस्थित खसी बजारसँग सम्झौता

बाँके र बर्दियाका उद्यमी महिलाहरुले दशैंका लागि पाँच हजार खसी–बोका राजधानी काठमाडौं लगायत बजारमा पठाउने तयारी गरेका छन् । सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघले संघमा आवद्ध भइ व्यावसायिक बाख्रापालन गरेका महिलाहरुले उत्पादन गरेका खसीबोका व्यावसायिक रुपमा काठमाडौं पठाउन थालेका हुन् ।
उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आवद्ध १५ वटा सहकारीका सात हजार सदस्य महिलाले उत्पादन गरेका चार हजार खसी–बोका काठमाडौं र एक हजार नेपालगञ्ज लगायतका सहरमा पठाउन लागिएको संघले जनाएको छ ।
त्यस्तै बर्दियाबाट यसवर्ष हालसम्म करिव १ हजार ७६ वटा खसीबोका बजारमा बिक्री गरिसेकेको हेफरका कर्मचारी शोभाकान्त पौडेलले बताए । त्यस्तै दसैं र तिहारलाई लक्षित गरि विभिन्न सहकारीमा आवद्ध महिलाले पाँच हजार खसी–बोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघका अध्यक्ष गंगाचन्द ठकुरीले जानकारी दिइन् । उनले बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसी–बोका पठाएर काठमाडौंमा खसी–बोका अभाव हुन नदिने बताइन् । उनले भनिन, ‘खसी–बोका खरिद विक्री गर्न काठमाडौँको कलंकीस्थित खसी बजारसँग सम्झौता भएको छ ।’ उद्यमी महिलाले उत्पादन गरेका खसी–बोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौं लगायतका सहरमा पठाउने गरेका छन् ।
महिलाले उत्पादन गरेका खसी सरकारी दररेट अनुसार खरिद गर्दै आएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरकी ब्यवस्थापक विद्या गुरुङले बताइन् । उनले जिउँदो खसी प्रति किलो ४५० देखि ५१५ रुपैयाँका दरले खरिद गर्दै आएको जानकारी दिइन ।
बाँकेमा १५ वटा सहकारीमा १० हजार महिला आवद्ध छन । उनीहरूमध्ये सात हजार महिलाले बाख्रापालन व्यवसाय गर्दै आएको संघकी अध्यक्ष ठकुरीले बताइन् । उनले एकजना महिलाले एक वर्षमा कम्तीमा चारवटा खसीबोका बिक्री गर्दै आएका छन् ।
राप्तीसोनारी, जानकी, खजुरा र बैजनाथका उद्यमी महिलाले स्थापना गरेका सहकारीले उद्यम गर्न चाहने महिलालाई ऋण तथा प्राविधिक सहयोग पनि गर्दै आएका छन् । ‘गाउँमा भएका समूहको सिफारिसमा उद्यम गर्न चाहने महिलालाई ऋण तथा प्राविधिक सहयोग गर्दै आएका छौँ,’ नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक गुरुङले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्