रग्दामा आठ वर्षसम्म पुल निर्माण अलपत्र
भेरी करिडोरबाट राप्ती लोकमार्ग जोडने लक्ष्य अधुरै

सुर्खेत– नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ बीचमा रहेको भेरी नदीको पुल निर्माण हुने अन्तिम मिति सकिएको चार वर्षसम्म पिल्लरै उठाएको छैन । भेरी करिडोरबाट रुकुम पश्चिमको विभिन्न ठाउँमा जानका लागि भेरी नदीमा निर्माणकार्य थालिएको उक्त पुल बीचमै अलपत्र परेको हो ।
मृत संजिवनी/ग्याल्बा जेभीले १० करोड ३० लाखमा लिएको ठेक्का अझैसम्म अलपत्र परेको हो । २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुलको अन्तिम मिति २०७५/९/३० गते म्याद समाप्त भएको थियो । त्यसपछि म्याद थपेर २०७७/९/२३ मा पुर्याए पनि निर्माण व्यवसायीले काम नगर्दा पुल अलपत्र पर्दै आएको हो । १५ प्रतिशतमात्र भौतिक प्रगति भएको सडक भिडिजन चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिए ।
आठ वर्षसम्म १५ प्रतिशत काम गर्ने निर्माण व्यवसायीले सडक विभागले जति पटक पत्राचार गरे पनि कानमा तेल हालेर बसेझै गरेर नसुनि बसेको पाइएको छ । काम नगर्ने ठेकेदार जेभीलाई सडक डिभिजन चौरजहारीले १० प्रतिशत एलडी लगाइसकेको छ । अहिले अन्तिम पटक १५ दिनको म्याद राखेर डिभिजन कार्यालयले ताकेता गरिरहेको प्रमुख शर्माले बताए । जेभीले डिजाइनमा समस्य आएको भन्दै काम गर्न आनाकानी गरिरहेको डिभिजनले जनाएको छ ।
डिजाइनमा समस्या आएको दाबी गर्ने जेभीले जाजरकोट खण्डको पिल्लरको आधा काम गरेको छ । आधा काम गरेर बीचमै छाडेको जेभीले काम गर्ने मजदुरको रकमसमेत नदिएको मजदुरहरू बताउँछन् । यो अवधिमा केही सामान्य काम भएकोमा त्यहाँका मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको बताए ।
गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेको मजदुरले १० लाख नपाएका बताएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले ६ लाख रकम नपाएको बताए । स्थानीयबासी चंखलाल नेपालीको ट्याक्टर प्रयोग गरेवापत जेभीले ६ लाख र मजदुरले खाएको दुई लाख रकमसमेत निर्माण व्यवसायीले भुक्तानी नगरेको मजदुरले बताएका छन् । जाजरकोट खण्डमा सामान्य पिल्लर उठाएको पाइएको छ ।
मृत संजिवनी–गाल्वा जेभी वसुन्धरा काठमाडौंको नामबाट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्काले आफूले काम गर्ने भन्दै बैंक ग्यारेन्टीसमेत राखेर कामको सुरुवात गरेका थिए । सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की बराबरकै रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै मेयर खड्काले काम छोडेका थिए । मृत संजिवनी–गाल्वा–जेभी वसुन्धरा काठमाडौंको नाममा कार्यालयबाट गएको पेश्की स्वरुपको ९० लाख रकम खड्काले लिइसकेकोले ठेक्काको काम छोडेर खड्का बाहिरिन सजिलो भएको थियो ।
खड्काले बीचमै काम छोडेपछि मृत संजिवनी–गाल्वा जेभी वसुन्धारा काठमाडौंले अहिलेसम्म सो पुलको काम अगाडि बढेको छैन । यो पुलले भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने काम गर्दछ । पुलको काम आठ वर्षसम्म नहुँदा यहाँको विकास निर्माणको कामसमेत अवरुद्ध भएको छ । भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने कामसमेत अवरुद्ध हुँदै आएको छ । अहिले मूल ठेकेदारलाई सम्पर्कमा ल्याएर छलफल गर्ने वातावरण बनाउन लागेको सडक डिभिजन चौरजहारीले बताएको छ ।
पूर्व जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले सडक विभागमै गएर पुल निर्माणमा किन ढिला भएको भन्दै ताकेता गरेपछि सडक डिभिजन चौरजहारीसँग छलफल भएको थियो । छलफलपछि कि ठेक्का तोड्ने कि त काम छिटो सुरु गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार १५ दिनभित्र सबै कुरा अगाडि बढ्ने सडक डिभिजन चौरजहारीले बताएको छ ।