Logo

जडिबुटी प्रमाणीकरण गर्ने व्यवस्था गर

नेपाली जडिबुटीले अर्गानिक प्रमाणीकरण अभावमा तेस्रो मुलुकको बजार पाएन भन्नु सरकारका लागि निकै निर्लज्जको विषय हुनुपर्छ । युरोप–अमेरिकालगायतका विकसित मुलुकहरूले प्रमाणीकरण गरिएको जडिबुटी मात्र खरिद गर्ने गर्छन् । नेपालका अधिकांश जडिबुटी अर्गानिक प्रमाणीकरण गरिएको छैन । सरकारले यसको व्यवस्था मिलाएको छैन । यही कारण जडिबुटीको निर्यातमा समस्या आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा १ अर्ब ८३ करोडबराबरको जडिबुटी निर्यात भएको थियो ।

त्यसअघिको वर्षमा १ अर्ब ८८ करोडको निर्यात पुगेको थियो । यो वर्षका ६ महिनामा १ अर्ब २१ करोडको निर्यात पुगेको छ । यो तथ्यांकले जडिबुटी निर्यात क्रमश: बढ्दै गएको देखाएको छ । तर, अर्गानिक प्रमाणीकरण हुन सकेको भए निर्यातको आकार झनै धेरै हुने थियो । अर्गानिक प्रमाणीकरण गर्न सके जडिबुटीले अन्तर्राष्ट्रिय बजार पाउने मात्र होइन, मूल्य पनि धेरै पाउने वातावरण बन्थ्यो । अहिले केही गैरसरकारी संस्थाको सक्रियतामा जडिबुटीको अर्गानिक प्रमाणीकरण हुने गरेको छ ।

सरकारको अगुवाइमा नभएकाले यो पर्याप्त हुन सकेको छैन । सरकारले कुन क्षेत्रको जडिबुटी हो, गुणस्तर कस्तो छ, अर्गानिक हो वा होइन भन्ने विभिन्न विषय प्रमाणित गर्ने निकाय बनाउन सकेको छैन । प्रमाणीकरण अभावमा अहिले नेपालको जडिबुटी चीन, भारत तथा अन्य एसियन मुलुकमा मात्रै खुम्चिएको छ । युरोप–अमेरिकामा यसको बजार विस्तार भएको छैन । ती मुलुकमा सम्भावना भने उच्च छ । नेपालका हुम्ला, जुम्लालगायतका हिमाली जिल्लामा जटामसी, लेबल ग्रास, रिट्ठा, टिमुर, तेजपात, यार्सागुम्बालगायतका हजारौं किसिमका जडिबुटी उत्पादन हुन्छन् ।

प्रमाणीकरण अभावमा अहिले नेपालको जडिबुटी चीन, भारत तथा अन्य एसियन मुलुकमा मात्रै खुम्चिएको छ । युरोप–अमेरिकामा यसको बजार विस्तार भएको छैन ।

यीमध्ये अधिकांश कच्चा पदार्थका रूपमा भारतमा जाने गरेका छन् । सामान्य प्रोसेसिङ र प्याकेजिङ गर्न सके मात्र पनि थप मूल्य पाउने वातावरण बन्थ्यो । तर, सरकारले त्यही गर्न पनि सकेको छैन । जडिबुटी संकलन र निर्यात गर्नेहरूले पनि यसमा हात हाल्न सकेका छैनन् । केही जिल्लामा भएका प्रशोधन केन्द्रहरू पनि सञ्चालनमा छैनन् । बजेट, मेसनरी पार्टपुर्जालगायत अभाव हुँदा वर्षौंदेखि यस्ता केन्द्र बन्द छन् । मुलुकमा तीन तहका सरकार भए पनि चासो कसैलाई छैन । त्यसै पनि हाम्रो निर्यात व्यापार निकै कमजोर छ ।

विश्वका विकसित मुलुकहरूले उत्पादन गर्ने वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्नु हाम्रा लागि फलामको च्युरा चपाएजस्तै हो । विकसित मुलुकहरूले आफ्ना उद्योगी व्यवसायीलाई विभिन्न किसिमका सुविधा उपलब्ध गराएका हुन्छन् । आन्तरिक उत्पादन बढाउन हरसम्भवका सुविधा दिइन्छ । त्यसमा पनि निर्यात गर्ने वस्तु र सेवाका हकमा झनै सहुलियत दिने प्रचलन छ । अर्कातिर उनीहरूको उत्पादन परिमाण धेरै हुने भएकाले लागत मूल्य पनि निकै कम हुन्छ । हाम्रा दुवै छिमेकी चीन र भारतले कुनै वस्तु उत्पादन गर्नु र हामीले गर्दा आउने लागत मूल्यमा आकाश–जमिनको फरक पर्छ ।

उत्पादन परिमाण मात्र होइन, गुणस्तर उत्पादनमा पनि हामी निकै पछाडि छौं । हाम्रा उद्योगी–व्यवसायीले नयाँ प्रविधि र उपकरणको प्रयोग गर्न सकेको अवस्था छैन । त्यसैले अरू मुलुकले उत्पादन गर्ने वस्तु वा सेवामा हाम्रा उत्पादनले विश्व बजार पाउन निकै समस्या छ । यस्तोमा हाम्रो रणनीति फरक हुनुपर्छ । हामीले अरूले सजिलै लैजान नसक्ने वस्तु पहिचान गरी त्यसलाई विश्व बजारमा पठाउन सके मात्र बजार र मूल्य दुवै पाउन सक्ने सम्भावना रहन्छ । यस अर्थमा जडिबुटी पनि एउटा यस्तो निर्यात गर्न सम्भावनायोग्य वस्तु हुन सक्छ ।

हाम्रो मुलुकको भौगोलिक बनावटका कारण यहाँ हजारौं किसिमका जडिबुटी पाइन्छन् । जुन अन्य मुलुकमा पाइँदैनन । कतिपय जडिबुटी पहिचान नै हुन नसकेको अवस्था पनि छ । त्यसैले जडिबुटीको संरक्षण, उत्पादन र निर्यातका लागि सरकारको पहल जरुरी छ । निर्यात व्यापार माथि जान नसकेको बेलामा जडिबुटीको निर्यात बढाउन सके त्यसले ठूलो राहत दिने उच्च सम्भावना छ । तर, सरकारले यसतर्फ ध्यान दिने गरेको देखिँदैन । अर्गानिक प्रमाणीकरण नभएर जडिबुटी तेस्रो बजारमा जान नपाएको अवस्थाबाट पनि सरकारी सहयोग नरहेको स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्