Logo

सेयर कारोबारबाट पौने तीन अर्ब पुँजीगत लाभकर

काठमाडौं– चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारमार्फत राज्यले २ अर्ब ८६ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । गत साउनदेखि माघसम्ममा सेयर बजारका लगानीकर्ताबाट यो रकम राज्यले असुल गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)का अनुसार गत आवमा सेयर बजारबाट राज्यले २ अर्ब ९७ करोड रुपैयाँ लाभकर असुल गरेको थियो । यो वर्ष भने सात महिनामै २ अर्ब ८६ करोड संकलन भइसकेको छ । यही अनुपातमा बढ्दै जाने हो भने गत आवको भन्दा निकै बढी पुँजीगत लाभकर चालु आवमा राज्यले संकलन गर्ने देखिन्छ ।

चालु आवको माघमा सबैभन्दा बढी पुँजीगत लाभकर असुल भएको छ । माघमा मात्रै ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर लगानीकर्ताले राज्यलाई तिरेका छन् । आवको पहिलो महिनामा सेयर बजारबाट राज्यले ४० करोड ८ लाख रुपैयाँ पुँजीगत लाभकर असुल गरेको थियो । साउनको तुलनामा भदौ, असोज, कात्तिक र मंसिरमा कम पुँजीगत लाभकर असुल भएको तथ्यांक देखाउँछ ।

भदौमा १४ करोड र असोजमा २१ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सेयर बजारबाट संकलन भएको थियो । कात्तिकमा भने ८ करोड ४१ लाख रुपैयाँमात्रै उठ्यो । कात्तिकमा दशैं तथा तिहारका कारण दुई साताभन्दा बढी सार्वजनिक बिदा भएको थियो । जसकारण सेयर बजार बन्द भएर पुँजीगत लाभर पनि घटेको हो । तर, कात्तिकको तुलनामा मंसिरमा कारोबार रकममा सुधार हुन पुग्यो र पुँजीगत लाभकर पनि उल्लेख्य मात्रामा बढ्न पुग्यो । सिडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार मंसिरमा ३० करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारले असुल गरेको छ ।

मंसिरको तुलनामा पुसमा सेयर बजारबाट राज्यले ४३ करोड ८६ रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । पुसमा लाभकर ७४ करोड ३९ लाख रुपैयाँ असुल भएको थियो । पुसको तुलनामा माघमा पनि उल्लेख्य मात्रामा पुँजीगत लाभकर राज्यले सेयर बजारमार्फत पाएको छ । माघमा ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर सेयर बजारबाट राज्यले पाएको हो ।

सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पुँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे सात प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । यस्तै, एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारमार्फत राज्यले अर्बौं रकम संकलन गर्न सक्ने अवस्था भए पनि नीतिगत जटिलताका कारण समस्या सिर्जना भइरहेको सेयर बजारका जानकारहरू बताउँछन् । सेयर बजारमा आइरहने उतारचढावले पुँजीगत लाभकरमा असर पर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठ्छ भने बढ्दा बढी उठ्ने अवस्था हुन्छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले २०७८ को मौद्रिक नीतिले विभिन्न नीतिगत जटिलता निम्त्याउँदा सेयर बजार त्यसयता धरासायी भएको बताए । यसले गर्दा पुँजीगत लाभकर जति संकलन हुनुपर्ने हो, त्यति नभएको उनको भनाइ छ । ‘३१ सयको इन्डेक्स अहिले २००० को हाराहारीमा झरेको छ । पहिले महँगोमा किनेको सेयर अहिले सस्तोमा बेच्दा पुँजीगत लाभकर आउँदैन, बढीमा बेच्न पाएको छैन,’ उनले भने ।

अहिले तिरेको लाभकर प्राथमिक सेयरबाट बढी भएको उनले बताए । उनले भने, ‘अहिले जुन डाटा आएको छ, त्यो आईपीओ बिक्रीबाट आएको हो । १०० रुपैयाँमा आएको सेयर सात सय रुपैयाँमा बिक्री भएका छन्, त्यसैबाट यति लाभकर राज्यले पाएको हो ।’ अहिले भने मौद्रिक नीतिले लगानीकर्ताको चाहनाबमोजिम सेयर बजारबारे नीतिहरू खुकुलो बनाइसकेको छ । अब विस्तारै बजार सुध्रँदै जाँदा राज्यले पाउने पुँजीगत लाभकर पनि थपिँदै जाने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्