डेढ दशकमा बल्ल करोड पर्यटक

काठमाडौं– संसारका दुई दर्जनभन्दा बढी मुलुकमा वार्षिक एक करोडभन्दा धेरै पर्यटक पुग्छन् । पर्यटक तान्ने प्रमुख तीन गन्तव्य भएको नेपालमा भने एक करोड पर्यटक आउन १४ वर्ष लागेको छ ।
संसारकै सर्वोच्च शिखर सगरमाथासहितका हिमश्रृंखला, गौतम बुद्धको जन्मभूमि लुम्बिनी र हिन्दूहरुको सबैभन्दा ठूलो आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर नेपालमै छन् । सरकारले प्रचारप्रसार गर्न सके वार्षिक एक करोड पर्यटक ल्याउन यी तीनमध्ये एउटै गन्तव्य काफी हुनुपर्ने हो । तर बिडम्बना मान्नुपर्छ, सरकारी संयन्त्र चुस्त बन्न नसक्दा उच्च सम्भावना भएर पनि पर्याप्त पर्यटक आउन सकेका छैनन् । अर्को बिडम्बना, सम्भावना करोडौंको हुँदा सरकार आफैंले वार्षिक लक्ष्य १० लाखमात्र राख्ने गरेको छ ।
हिन्दू र बौद्ध धर्मावलम्बीहरुलाई मात्र आकर्षण गर्न सके पनि नेपाललाई पर्यटकको अभाव हुने थिएन । मुस्लिम धर्मावलम्बीहरुलाई आकर्षण गर्न सकेकै कारण साउदी अरेबियामा वार्षिक १० करोड पर्यटक पुग्छन् भने लुम्बिनी र पशुपतिनाथमा पनि लाखौंको संख्यामा धार्मिक पर्यटक आउने सम्भावना छ ।
साउदीलाई छोड्ने हो भने पर्यटकका लागि त्यस्तो दर्शनीय स्थान नभएका मलेसिया, थाइल्याण्ड, भियतनाम, सिंगापुर, इन्डोनेसियाजस्ता मुलुकले पनि वर्षमा सजिलै एक–दुई करोड पर्यटक भित्र्याउने गरेका छन् । मुलुकभित्र राम्रा गन्तव्य भएर पनि १० लाखमात्र पर्यटक ल्याउने लक्ष्य पुगेको भन्दै सरकारी अधिकारी मख्ख छन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार एक करोड पर्यटक आउन १४ वर्ष लागेको छ । सन् २०१० देखि २०२३ सम्ममा बल्ल एक करोड ३ लाख पर्यटक आएका छन् । बोर्डले नेपालमा पर्यटक आगमनको तथ्यांक राख्न सुरु गरेको सन् १९९१ देखि हो । त्यसयता २०२३ सम्ममा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या एक करोड ७८ लाख पुगेको छ । सत्तामा पुग्ने सबै राजनीतिक दलहरुले आफ्नो सरकारले पर्यटक बढाउने रणनीति बनाएको दाबी गर्दै आए पनि एक करोड पर्यटक आउन १३ वर्ष लागेको यथार्थ हो ।
पूर्वाधारको अभाव हुँदा पर्यटक आगमनमा वृद्धि गर्न नसकिएको पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशी बताउँछन् । ‘नेपाल पर्यटकीय सम्भावना उच्च भएको देश हो, तर हामीले यहाँको प्राकृतिक सम्पदा र संस्कृतिको प्रवद्र्धन गर्न नसक्दा पर्यटक आगमनमा उल्लेख्य वृद्धि गर्न सकेका छैनौं,’ उनी भन्छन् । हवाई सञ्जाल विस्तार हुन नसक्नु र देशभित्र पर्याप्त पूर्वाधार नहुँदा नै पर्यटक भित्र्याउन मुस्किल भएको उनको निष्कर्ष छ । ‘विमानदेखि विमानस्थल र सडक तथा अन्य पूर्वाधारमा सरकारले पर्याप्त लगानी गरे वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिन्छ । हामीभन्दा कम पर्यटकीय सम्भावना भएका देशले पूर्वाधार र प्राकृतिक सम्पदा विकास गरेर पर्यटक भित्र्याएका छन् । तर, हाम्रोमा पर्याप्त सम्भावना हुँदा पनि पर्यटक आगमन उत्साहजनक छैन,’ उनले भने ।
‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ मा मात्र सरकारले वार्षिक लक्ष्य पूरा गरेको थियो । यो वर्ष १० लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरे । विश्व पर्यटन संगठनका अनुसार १ जना पर्यटकले ११ जनालाई रोजगारी दिन सक्छ ।
मुलुकभरका पर्यटक स्तरीय होटलले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । अन्य साना होटलको समेत क्षमता जोड्ने हो भने यो संख्या ४० लाख पुग्ने उनको भनाइ छ । मिश्र भन्छन्, ‘सरकारले वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । निजी क्षेत्र भने ४० लाखसम्मलाई सेवा दिन सक्षम छ ।’ पर्वतारोहणदेखि संस्कृतिसम्मका क्षेत्रमा पर्याप्त पर्यटक भित्र्याउने सम्भावना भए पनि पूर्वाधारको कमी र सरकारले पर्यटन क्षेत्रको महत्व नबुझ्दा पर्यटक आगमन वृद्धि गर्न नसकिएको मिश्रको भनाइ छ । ‘विदेशी मुद्राको भरपर्दो स्रोत पर्यटन भए पनि पछिल्ला वर्षहरुमा यो उद्योगमा भएको लगानीको दाँजोमा पर्यटक आगमन न्यून हो,’ मिश्र भन्छन्, ‘हामीले युरोप र अमेरिकामा सिधा उडान गरेर पर्यटक बढाउन सक्छौं, तर त्यसका लागि सरकारले हवाई सञ्जालको विस्तारमा जोड दिएकै छैन ।’
कोभिड महामारी साम्य भएसँगै पर्यटक आगमन सुधारको क्रममा छ । यद्यपि, आगमन दर उत्साहजनक भने नरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । मिश्र भन्छन्, ‘वार्षिक ३५ लाख पर्यटकलाई सहज रुपमा सेवा दिन सक्ने अवस्था भए पनि पर्यटक आगमनका लागि वातावरण बनाउन नसकिएको अवस्था छ ।’
आर्थिक सर्वेक्षण २०७९–८० अनुसार डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ । त्यसैगरी तारे स्तरबाहेकका डिलक्स-लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ पुगेको छ । ८ सय ५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३ सय ३५ छ । तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स-लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ ।
ट्राभल एजेन्सी ४ हजार ५७, ट्रेकिड एजेन्सी २ हजार ९ सय र राफ्टिङ एजेन्सी ८८ वटा छन् । टुर गाइडको संख्या ४ हजार ६ सय ६५, ट्रेकिङ गाइड १९ हजार ५ सय ३४ र रिभर गाइड ३ सय ८७ जना छन् । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या ३२ छ । त्यसैगरी द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४१ पुगेको छ । दुइतर्फी हवाई सिट क्षमता संख्या वार्षिक ८७ लाख छ । आन्तरिक उडान गर्ने वायुसेवाको संख्या २२ पुगेको छ ।
गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो सयम भए पनि अन्य देशमा उडान हुन नसक्नु, स्रोत बजारमा प्रचारप्रसार गर्न नसक्नु र सडक मार्ग सुधार नहुँदा पर्यटक आगमन बढ्न नसकेको सरोकारवालाहरुको बुझाइ छ । ‘भारत र चीनबाट स्थल मार्गमार्फत पनि पर्यटक भित्र्याउन सकिन्छ । तर, हाम्रो बाटो नै राम्रो छैन,’ पर्यटन व्यवसायी मिश्र भन्छन्, ‘बाटोमात्रै राम्रो भए पनि पर्यटक बढाउन सकिन्छ । पर्यटक बढे यसको प्रभाव सबै क्षेत्रमा पर्छ । कमजोर सडक र हवाई पूर्वाधारका कारण सम्भावना हुँदाहुँदै पनि हामी अगाडि बढ्न सकेका छैनौं ।’