Logo

वन अधिकृतसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुमति लिएभन्दा बढी काठ कटान गरेको आरोपमा कपिलवस्तुका आठ वन अधिकृतसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति लिएभन्दा बढी काठ कटान गरेको र त्यसमा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समिति कार्यान्वयन इकाइका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेव महतो र रेञ्जर हेमराज पण्डितविरुद्ध मुद्दा दायर भएको छ । गैरकानुनी रुपमा काठ कटान गर्दा राज्यकोषमा २९ लाख १२ हजार रुपैयाँ नोक्सानी भएको अख्तियारको दाबी छ ।

यसैगरी अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, वासुदेव गोडिया, तत्कालिन संयोजक जानकीप्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठदाउरा खरिदबिक्री सेन्टरका सञ्चालक गिता जीसीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आठ सय वटा रुख काट्ने क्रममा करिब १९ हजार क्यूफिटको वन पैदावार कम संकलन भएको अख्तियारको आरोप छ । ‘कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा आव २०७४–७५ मा ठेकेदारसमेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरी केही काठ लुकाईछिपाई नजिकैको सः मिलमा बिक्री गरी अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा विभिन्न ६ वटा कटान प्लटहरुमा विभिन्न जातका ८ सय ३ वटा रुख छपान भएकोमा ८ सय १ वटा रुख कटान भएको पाइयो,’ आयोगले भनेको छ ।

रुख नापजाँचको आधारमा ३५ हजार ७ सय ७८ क्यूफिट काठ र ४९.२३ चट्टा दाउरा संकलन हुनुपर्नेमा परिमाणभन्दा कम काठ संकलन भएको देखाई मिलेमतोमा वन पैदावार हिनामिना गरिएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्