Logo

कान्तिपुर सहकारी समस्याग्रस्त

काठमाडौं– सरकारले ९ हजारभन्दा बढी सेयर सदस्य भएको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको माघ २९ गतेको सिफारिसमा सहकारी मन्त्रालयले यो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सदस्यको बचत फिर्ता नगरी सञ्चालक भागेपछि सदस्यकै मागअनुसार विभागले सहकारी ऐनको दफा १०४ को उपदफा (१) बमोजिम मन्त्रालयलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

सहकारी सिद्धान्त र ऐनविपरीत घरजग्गामा लगानी गर्दा सहकारी समस्याग्रस्त हुन थालेको विभागको भनाइ छ । विभागका अनुसार कान्तिपुर सहकारी संस्थामा करिब ९ हजार सदस्य छन् । यो सहकारीले ५ अर्ब २२ करोड ऋण लगानी गरेको छ भने कुल सम्पत्ति ६ अर्ब ४२ करोड रुपैयाँ छ ।

सदस्यको बचत फिर्ता गर्न पटक–पटक विभागले सञ्चालकलाई तोकेता गर्दा पनि बचत फिर्ता नगरेपछि ३७५ जना सदस्यले विभागमा उजुरी दिएका थिए । सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार यी उजुरीमा ५५ करोड ५० लाख रुपैयाँ मागदाबी गरिएको छ । सहकारी व्यवस्थापन समितिका कार्यालय सचिव केशव पौडेलले सरकारले धमाधम सहकारीलाई समस्याग्रस्त घोषणा गरिरहँदा समितिसँग पर्याप्त स्रोतसाधन र जनशक्ति नहुँदा व्यवस्थापन गर्र्न समस्या हुने गरेको बताए ।

जनशक्ति नभएकै कारण सहकारी संस्थाको सम्पत्ति छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्न वर्षाैं लाग्ने गरेको उनको भनाइ छ । समस्याग्रस्त घोषणा गर्दा संस्थाका सबै प्रतिवेदन सँगै उपलब्ध नगराउँदा अनुसन्धान गर्न समस्या हुने उनले बताए । ‘सरकारले खाली कागजमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेर दिँदा समितिलाई व्यवस्थापनमा समस्या भएको छ,’ उनले भने । २०७३ यता सरकारले यो फागुनसम्म १७ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेकामा हालसम्म ३ वटा सहकारी संस्थाको मात्र राफसाफ भएको छ । लामो प्रयासमा कुबेर बचत तथा ऋण सरकारी, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको बचतकर्ताको रकम फिर्ता गराइएको छ ।

समस्याग्रस्त घोषणा गरिएका सहकारीहरुमा कान्तिपुर, शिवशिखर, तुलसी, हाम्रो नयाँ कृषि, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट, प्रभु, कोहिनुर हिल, कन्जुमर बचत तथा ऋणलगायत छन् । यसैगरी भेगास बचत तथा ऋण सरकारी, स्टाण्डर्ड मल्टिपर्पोज, सोसाइटल बचत तथा ऋण सहकारी, लुनिभा बहुद्देश्यीय सहकारी, ओरेण्टल र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ पनि समस्याग्रस्त घोषणा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्