किसानलाई उन्नतिको अनुदान

कृषि क्षेत्रका लागि इलाममा सरकारले वर्सेनि करोडौं रूपैयाँ लगानी गर्दै आएको छ । सरकारको यो लगानी किसानसम्म नपुगेको किसानको गुनासो पनि सुन्न छाडिएको छैन । लगानीको सही कार्यान्वयन र अनुगमन पनि प्रभावकारी रूपमा हुन नसकेको सरोकारवालाको भनाई छ । सधैंभरी कृषि उत्पादन र बजार मूल्यमा ठगिँदै आएका किसानलाई मूल्य शृङ्खलामा जोड्न पछिल्लो पटक डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाको कार्यक्रम मार्फत जिल्लाका किसानको घर परिवाससम्म पुग्न ४० करोड रूपैयाँभन्दा बढको अनुदान सहयोग लगानी गरिरहेको छ ।
डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति परियोजनाको समावेशी वृद्धि कार्यक्रमअन्तर्गत इलाममा १ सय ३ कार्यक्रम सञ्चालित छन् । कार्यक्रमले १७ हजार १ सय १८ घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ । कृषि बजारको पहुँच स्थापना गर्न ४० करोड ३० लाख ४४ हजार ९ सय ५८ रूपैयाँको कार्यक्रम सञ्चालन गर्न जिल्लाका किसानसँग काम गरिरहेको उन्नतिको इलाम क्लस्टर कार्यालयले जनाएको छ । परियोजनाले उन्नति च्यालेन्ज फन्डअन्तर्गत अनुदान सहयोग गरेको कार्यालयका कृषि विज्ञ अनिलकुमार त्रिपाठीले बताए ।
कृषि विकास मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति परियोजनाको सहयोगमा मूल्य शृङ्खला विकास गरेर बजार मूल्य अभिवृद्धिमा किसानको पहुँच बढाउँदै दैनिक आयमा बृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको हो । मूल्य शृङ्खला विकास गर्दै, प्रवद्र्धन गर्न चिया, अलंैची, अदुवा र दूध उत्पादक किसानलाई अनुदान सहयोग गरिरहेको कार्यालयले जनाएको छ । कार्यालयले कृषि फार्म, सहकारी संस्था, समूह र गैरसरकारी संस्थाकोे कार्यक्रमलाई स्वीकृत गरी अनुदान सहयोग गर्ने बताइएको छ ।
परियोजनाको कार्यक्रमले जिल्लाका ५६ चिया किसानलाई २६ करोड ८० लाख ३३ हजार ९सय ३५ रूपैयाँ अनुदान सहयोग स्वीकृत गरेको छ । दूध उत्पादन गर्न २९ वटा डेरी उद्योगलाई ९ करोड १३ लाख ६३ हजार ६ सय ४७ रूपैयाँ अनुदान दिने भएको छ ।
जिल्लामा अलैंची प्रवद्र्धन गर्दै आएका १५ किसानका उद्योगलाई ३ करोड ७५ लाख ७५ हजार १ सय ३८ रूपैयाँ अनुदान सहयोग गरिरहेको छ । यसैगरी अदुवा प्रवद्र्धन गर्न तीन अदुवा किसानलाई ६० लाख ७२ हजार २ सय ६४ रूपायाँ अनुदान दिएको कार्यालयले जनाएको छ ।
कार्यालयको अनुदान तथ्यांकअनुसार चिया किसानका लागि ५६ परियोजनाले ७ हजार ८सय ७० घर, डेरीको २९ परियोजनाबाट ५ हजार ३ सय ७८, अलैंचीका परियोजना सञ्चालनबाट २ हजार ७ सय ३० र अदुवाका तीन परियोजनाबाट १ हजार १ सय ४० घर लाभान्वित हुनेछन् ।
अनुदान स्वीकृत भएका मध्ये गएको असार मसान्तसम्ममा ५ करोड २६ लाख ५७ हजार ७ सय ४६ को कार्यक्रम सुरु भइसकेको छ । परियोजनाको कार्यक्रमअन्तर्गत चियाका २० उद्योगी किसानलाई ४ करोड २१ लाख ५१ हजार ९ सय ३९, आठ डेरी उद्योगले ६८ लाख ३३ हजार २ सय ६९, अलैंचीका चार उद्योगी किसानले २४ लाख ३८ हजार २ सय ६० र अदुवाका दुई किसानको कार्यक्रममा १२ लाख ३४ हजार २ सय ७८ रूपँयाँ निकासा गरी कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।
उन्नति परियोजनाले किसानलाई प्रत्यक्ष अनुदानसमेत दिँदै आएको छ । यसअन्तर्गत २१ लाख ९८ हजार ३ सय रूपैयाँ अनुदान किसानलाई दिने भएको छ । परियोजनाको कार्यक्रमले २३ अदुवा किसानको समूहलाई अनुदान दिने कार्यालयले जनाएको छ । प्रत्यक्ष अनुदानको काम भने अहिलेसम्ममा ३० प्रतिशत भइसकेको बताइएको छ । यसबाट ६ सय ९० घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ । परियोजनाले यसबाहेक पूर्वाधार निर्माणको कामसमेत गर्दै आएको छ ।
–टीका खतिवडा