Logo

प्रधानाध्यापक नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिकाले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ  । गाउँपालिकाले माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका प्रधानाध्यापकको नियुक्तिका लागि सूचना प्रकाशित गरिएको छ  ।

पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै गत माघ २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकले निर्णय गरेको थियो । गाउँपालिकाले योग्यता पुगेका इच्छुक उम्मेदवार तथा शिक्षकले सूचना जारी गरेको २१ दिनभित्र कार्यालयमा स्वयम् उपस्थित आवेदन दिन आह्वान गरेको छ ।

पालिकाभित्र रहेका सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्तिसम्बन्धी संशोधित कार्यविधि, २०७९ बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न सोही कार्यविधिको दफा ४ अनुसार सूचना प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ  । माध्यमिक तहको विद्यालयको प्रधानाध्यापक हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह (स्नाकोत्तर तहलाई प्राथमिकता दिइने) तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ  ।

यस्तै आधारभूत तह कक्षा (१–८) का लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको र आधारभूत तह कक्षा (१–५) का लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ  ।

तामाकोशी गाउँपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षकलाई तीन लाख रुपैयाँसम्म उपलब्ध गराउने अवसर दिएको थियो । गाउँपालिकाले स्थायी सेवा अवधि २० वर्ष पूरा भएको र ५५ वर्ष उमेर पूरा भएका शिक्षकले अवकाश लिन चाहेमा प्रोत्साहन स्वरुप नगद घोषणा गरेकोमा धेरैले यस्तो सुविधा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्