Logo

भयावह बन्दै कर्णालीमा बेरोजगारी

सुर्खेत– कर्णालीमा बेरोजगारी भयावह बन्दै गइरहेको छ । रोजगारीका लागि काम नै पाउन नसकेपछि बेरोजगारी स्थिति भयावह बनेको हो । केही वर्षअघि सम्म प्राय नेपालीको रोजगार गन्तव्य खाडी मुलुक मात्रै थियो । तर पछिल्ला वर्षमा खाडीसँगै यूरोपियन मुलुकमा जाने युवाको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

मुलुककै सबैभन्दा गरिब कर्णाली प्रदेशको गरिबीको अवस्था भयावह बन्दै गएको तथ्यांकले देखाएको छ । २७ प्रतिशत बहुआयामिक गरिबी रहेको कर्णालीमा बेरोजगारीको ग्राफ बढ्दो छ । कर्णालीका अधिकांश नागरिक कामको खोजीमा कालापहाड (भारत) जान्छन् । तर सरकारसँग एकिन तथ्यांक छैन । खुल्ला सिमानाका कारण रोजगारीका लागि कालापहाड जान कर्णाली वासी बाध्य छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशका मात्रै ९४ हजार युवा युवती रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशीएका छन् । काला पहाड जानेको संख्या सरकारसँग छैन् । बेरोजगारी अवस्थाबारे सरकार बेखबर भईरहेकै बेला सुर्खेतमा जारी कर्णाली उत्सवमा समेत ‘देश जान्या’ शस्त्रमा कर्णाली र समग्र देशको बेरोजगारी, वैदेशिक रोजगारीको अवस्था, एजेन्टबाट हुने ठगीबाट बच्ने, विदेशबाट फर्किएका युवाको सीप कार्यान्वयनलगायतका विषयमा बहस गरिएको हो ।

छलफलमा वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलगायतका वक्ताले मुलुकको बेरोजगारी भयावह बन्दै गएको, वैदेशिक रोजगारी व्यवस्थित नभएको र रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा बेरोजगारी न्यूनीकरण तथा युवा पलायन रोक्न चुनौती थपिँदै गएको बताए ।

वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन लागि परेको बताए । उनले भने,‘अहिले पनि २२ लाख नेपाली नागरिक विभिन्न सिलसिलामा वैदेशिक मुलुकमा छन् । यद्यपि सरकारी प्रक्रियाभन्दा एजेन्टमार्फत विदेश जान खोज्ने भएकाले ठगिने क्रम बढ्दो छ । जसका कारण विदेश जाने सोच बनाएकै दिनबाट नेपाली युवा ठगिने गरेका छन् । आफ्नो सीप क्षमता र दक्षता पहिचान गरेर मात्रै विदेश यात्रा गर्न जरुरी रहेको उनको भनाइ छ ।

ठगिनेमा अझ कर्णाली प्रदेशका युवा बढी रहेका छन् । कर्णालीका दूरदराजमा सहि सूचना समयमै प्राप्त नहुने भएकोले पनि ठगिका घटना बढ्ने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तथ्याङ हेर्दा गत माघ महिनामा मात्रै ६२ हजार युवा सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये ५५ हजारभन्दा धेरै पुरुष रहेका छन् भने ७ हजार महिला रहेका छन् । चालु आवको माघ महिनामा मात्रै २ हजार जना श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

जिल्लागत रूपमा हेर्दा हुम्लाबाट ५१, मुगुबाट ४४, डोल्पाबाट ४२, कालिकोट ७१, दैलेखबाट २८९, जाजरकोटबाट २०५, सुर्खेतबाट ४४२, सल्यानबाट ६३१, रुकुम पश्चिमबाट २०६ जनाले श्रम स्वीकृति लिएर विदेशीएका छन् । नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष शाहले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उपयुक्त रोजगारी, सीपको उपभोग तथा रेमिटेन्स उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा मुलुकको बेरोजगारी विकराल बन्दै गएको बताए ।

कर्णालीको सम्भावनामा लगानी र प्राप्त भएको रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी नगरे बेरोजगारी घटाउन समस्या हुने उनको भनाइ छ । उनले भने,‘विदेशमा सिकेको सीप उपभोग गर्ने संयन्त्र छैन् । रेमिटेन्सको उत्पादनमुलक क्षेत्रमा लगानी भएको छैन् । राज्यले युवामाथि व्यापार गरिरहेको छ । विदेशबाट फर्किएका युवाको तथ्यांक समेत कतै भेटिन्न । यसले सरकार रेमिटेन्समुखी भएको छ ।’

उनका अनुसार चालु आवको ६ महिनामा मात्रै वैदेशिक रोजगारीमा जानेमध्ये ३५ सय जनाको ठगीका उजुरी परेको छ । यो तथ्यांकले वैदेशिक रोजगारी सुरक्षित नभएको स्पष्ट हुने अध्यक्ष शाहले बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीले श्रमिकको पेशागत सुरक्षा र विदेशमा हुने समस्या समधान गर्दै आएको बताए ।

‘कामदार र गन्तव्य मुलुकसँग सिधै सम्बन्ध विस्तार नहुँदा श्रमिकले दु:ख पाएको सत्य हो’, उनले भने,‘रोजगार गन्तव्य मुलुक, गर्ने काम यकिन नभई वैदेशिक रोजगारीमा नपठाउने नीति बनाउन जोड दिएका छौं । सरकारी प्रक्रियाभन्दा एजेन्टमार्फत विदेश जान खोज्दा ठगीका समस्या बढेका छन् । त्यसैले एजेन्टहरूलाई निर्मुल पार्ने समेत नीति ल्याउन माग गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्