Logo

पर्वतमा व्यावसायिक स्याउ खेती

पर्वत– पर्वतमा पहिलोपटक व्यावसायिक रूपमा स्याउ खेती सुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका–४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यासायिक रूपमा स्याउ खेती सुरु गरेका हुन् । स्थानीय फलाटे र एक गैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउ खेती सुरु गरेका छन् । २८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक स्याउ खेती सुरु गरेको बताए ।

शेरपुजाले युट्युब च्यानबाट स्याउ खेती सम्बन्धी विभिन्न जानकारी लिएर पहिलो पटक एग्रो मनाङ प्रालि काठमाडौंसँगको समन्वयमा इटलीबाट चारवटा फरकफरक जातका एक सय बिरुवा खरिद गरेर खेती सुरु गरेको बताए । गत वर्षदेखि सुरु भएको स्याउ खेतीमा अहिले तीन सयवटा बिरुवा पुगिसकेका छन् भने बिरुवा रोपेको पहिलो वर्ष नै झण्डै ५० किलोग्राम स्याउ उत्पादन समेत भएको कृषक शेरपुजाले जानकारी दिए ।

उनले समुद्री सतहदेखि दुई हजारदेखि २२ सय मिटरको उचाइमा स्याउ खेती गरेका छन् । सुरुमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चारवटा जातका बिरुवा रोपेका हुन् । सुरुवातमा मलखाद नमिलेका कारण २०/२५ वटा बिरुवा मरेको र पुन: भारतबाट एम ७ र एमएन १११ जातको नयाँ बिरुवा ल्याएर रोपेको शेरपुजाले बताए । धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परीक्षण गर्दा फल्ने तर बिरुवा लामो समय नटिक्ने समस्या रहेको थियो ।

आफूले सामाजिक सञ्जाल र युट्युबमा थप अध्ययन गर्दै जाँदा यहाँको हावापानी र उचाइमा उपयुक्त हुने स्याउ इटलीमा पाइने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको बताए । सुरुमा परीक्षणका लागि लगाएको बिरुवाबाट पहिलो वर्ष नै राम्रो उत्पादन भएपछि आफैंले बिरुवा कलमी गर्ने, बीउबाट नर्सरी बनाउने काममा लागेको बताए । यस वर्ष थप दुई सय विरुवा रोप्ने योजना बनाएका शेरपुजाले आगामी वर्ष एक हजार पाँच सय बोट विस्तार गर्ने लक्ष्यसमेत राखेका छन् ।

एउटा बोटबाट कम्तीमा पाँच केजीसम्म उत्पादन लिन सकिन्छ । शेरपुजाले भविष्यमा तीन हजारसम्म बोट लगाउने योजना बनाएका छन् । कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफूले स्याउका बिरुवा ल्याएर रोपेपछि गाउँलेले जिस्क्याएको भए पनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीसमेत स्याउ खेतीतर्फ सकारात्मक बनेका छन् । शेरपुजाले भने, ‘पहिला गाउँलेले विश्वास नै मानेका थिएनन् जब बोट सारेको पहिलो वर्षमै स्याउ फल्न थाल्यो, त्यसपछि भने छिमेकी पनि स्याउ खेती गर्न उत्साहित बनेका छन् ।’

शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई बिक्री गर्ने जानकारी दिए । अहिले परीक्षणकै रूपमा रहेकाले अब फार्म नै खोलेर यो खेती विस्तार गर्ने तयारी शेरपुजाको छ । ‘कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउ खेती लगाएपछि प्रसस्त आम्दानी हुने अपेक्षा गरेको छु,’ उनले भने । शेरपुजाले अवकाश पछिको जीवन व्यावसायिक स्याउ उत्पादन र विस्तारमा बिताउने योजना रहेको बताए । स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको उनको भनाइ छ ।

शेरपुजा र उनकी श्रीमतीले फार्ममा काम गर्दै आएका छन् । सहरमा बस्न बागलुङ बजारमा सुविधा सम्पन्न घर बनाएको भए पनि आफू भने गाउँमै बसेर व्यावसायिक स्याउ खेती गर्ने योजना बनाएको उनले बताए । गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउ खेती सुरुवात गरेको उनको भनाइ छ ।

अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याउ खेती विस्तार गर्ने उनको योजना छ । स्याउ खेतीका लागि भनेर आफूले कुनै तालिम र सीप नसिकेको बताउँदै युट्युबबाटै आवश्यक जानकारी लिएर खेती गरेको उनको भनाइ छ । जिल्लामै पहिलोपटक खेती सुरु गरे पनि कुनै निकायबाट सहयोग नपाएको शेरपुजाले बताए ।

प्रतिक्रिया दिनुहोस्