उपभोक्ताको माग पूरा गर्न काठ आयात
वनमै रह्यो ५० हजार क्युफिट काठ
दाङ– जिल्लामा उत्पादन हुने काठले यहाँको काष्ठजन्य सामग्रीको माग पूरा गर्न सकेको छैन । जिल्लामा माग पूरा गर्न नसकेपछि जिल्ला बाहिरबाट काठ ल्याउनु पर्ने बाध्यता छ । केही वर्ष जिल्लामा देशबाहिरको काठसमेत आयात भएको व्यवसायी बताउँछन् ।
पछिल्ला वर्षमा भने देश बाहिरबाट काठ आउन छाडेको उनीहरूको भनाइ छ । जिल्लामा करिब ६० हजार क्युफिट काठको माग हुने गरेको काष्ठ व्यवसायी एवम् काष्ठ व्यवसायी समितिका दाङका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य दानबहादुर अधिकारीले बताए । अहिले जिल्लामा २० हजार क्युफिट काठ उत्पादन भइरहेको उनको भनाइ छ । अपुग हुने काठ बाहिरी जिल्लाबाट ल्याएर माग पूरा गर्ने गरिएको छ ।
‘जिल्लाको उत्पादनले नपुगेपछि बाहिरबाट काठ ल्याएर पूरा गर्नुपरेको छ, यो हाम्रो बाध्यता हो,’ उनले भने । पछिल्लो समय जिल्लामा काठ उत्पादन बढ्ने अनुमान गरिएको छ । दिगो वन व्यवस्थापन, निजी वन क्षेत्र वृद्धि हुनुका साथै पछिल्लो समय खाली क्षेत्रमा समेत वृक्षरोपण गर्न थालेपछि काठको उत्पादन वृद्धि हुने वन क्षेत्रका अगुवाको भनाइ छ । जिल्लामा आवश्यक मात्रामा काठ उपलब्ध भए बाहिरबाट काठ ल्याउनु पर्ने बाध्यता हट्ने उनी बताउँछन् ।
बाहिरबाट काठ ल्याउनु पर्दा मूल्यसमेत महँगो पर्ने गरेको छ । अहिले जिल्लामा कपिलवस्तु तथा महेन्द्रनगरबाट काठ आउने गरेको छ । जिल्लामा १५० बढी काष्ठ व्यवसायी छन् । जिल्लाको घोराही, नारायणपुर, तुलसीपुर, हापुर, लमही, भालुवाङ, गढवालगायत बजारी क्षेत्रमा बढी काठ खपत हुने गरेको अधिकारी बताउँछन् । आर्थिक मन्दीका कारण अहिले नयाँ संरचना कम बनेकाले माग पनि कम भएको उनको भनाइ छ ।
‘आर्थिक मन्दीका कारण नयाँ संरचना, भवन निर्माण हुने क्रम कम भएका कारण काठको माग पनि घटेको छ,’ अधिकारीले भने । जिल्लामा उत्पादन हुने सबै काठ पनि व्यवसायीलाई बिक्री गरिँदैन । सामुदायिक वनबाट उत्पादन भएको काठ उपभोक्तालाई बिक्री गर्ने गरिएको छ । उपभोक्तालाई पुगेपछि मात्र बाहिर बिक्री गर्ने गरिएको छ । जिल्लामा उत्पादन भएको काठ २५ प्रतिशत आपूर्ति समितिलाई प्रदान गर्ने गरिन्छ भने ७५ प्रतिशतमात्र व्यवसायीलाई बिक्री गर्ने गरिएको अधिकारी बताउँछन् ।
आपूर्ति समितिले उपभोक्तालाई बिक्री गर्ने मूल्य र व्यवसायीलाई बिक्री गर्ने मूल्य फरक रहेको उनले बताए । ‘राजपत्रमा प्रकाशित भएपछि मूल्य एउटै हुनुपर्ने हो तर फरक/फरक हुन्छ,’ उनले भने, ‘यसबारे धेरै पटक आवाज उठाए पनि सुनुवाइ हुनसकेको छैन ।’ सहज रूपमा नागरिकले काठ पाउन नसकेपछि काठको विकल्प प्रयोग गर्न थालेको उनले बताए । ‘काठ सहज रूपमा पाउन नसक्दा काठका सामग्रीको विकल्पमा आल्मुनियम तथा फलामका सामग्री प्रयोग गर्न थालेका छन्,’ उनले भने ।
यसरी आल्मुनियम तथा फलाम प्रयोग गर्दा यहाँको रकमसमेत बाहिर जाने गरेको छ । ‘स्वदेशमा उत्पादन भएको सामग्री प्रयोग भए बाहिर जाने रकम रोक्न सकिन्छ,’ उनले भने । पछिल्लो समय काठमात्र नभई फर्निचरसमेत बाहिरबाट ल्याएर बिक्री गर्ने गरिएको छ । ‘फर्निचरका सामग्रीसमेत बाहिरबाट ल्याएर बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
वनमा रहेको काठ निकाल्न पनि समस्या
जिल्लामा सामुदायिक वन तथा राष्ट्रिय वनका काठ खेर गएका छन् । वनमा रहेको काठ ननिकालिँदा मूल्यवान् काठ माटोमा विलय हुने गरेका छन् । जिल्लामा सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना नवीकरण गर्न नसक्दा काठ निकाल्न पाएका छैनन् भने राष्ट्रिय वनमा विभिन्न कारण देखाउँदै निकाल्न सकिएको छैन ।
वनको कार्ययोजना नवीकरण नहुँदासम्म वनबाट काठ निकाल्न नपाउने भएपछि सामुदायिक वनमा रहेका काठ खेर जान लागेको सामुदायिक वन उपभोक्ता महासंघ बताउँछ । सामुदायिक वनमा अहिले करिब ५० हजार बढी क्युफिट काठ वनमै रहेको सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरि भुसाल बताउँछन् । सामुदायिक वनले ढलेका तथा सुकेका रुखसमेत निकाल्न नपाएको उनको भनाइ छ । यसरी वनमा रहेको काठ निकाल्न नपाएपछि काठ खेर जाने अध्यक्ष भुसाल बताउँछन् ।