Logo

सामाजिक सुरक्षा योजनाको लाभग्राही भुक्तानी ६ महिनामा २ अर्ब

काठमाडौं– चालु आर्थिक वर्षको पुससम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत लाभग्राहीलाई २ अर्ब ३ करोड भुक्तानी गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता तथा उनीहरूका हकवालाई सो लाभग्राही रकम उपलब्ध गराइएको सामाजिक सुरक्षा कोषले जनाएको हो । कोषले चालु आर्थिक वर्षको साउनदेखी पुससम्म योजनाका विभिन्न क्षेत्रमा योगदान रकम भुक्तानी गरेको छ ।

कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धा अवस्था सुरक्षा योजनाअन्तर्गत दाबी रकम भुक्तानी गरेको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए । कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ९३ हजार ९६९ वटा दाबीअन्तर्गत ६० करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत २ हजार ८९७ दाबीमा ७ करोड ३१ लख भुक्तानी गरेको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ९ हजार ३१० दाबीअन्तर्गत ८ करोड ९१ लाख रुपैयाँ लाभग्राही भुक्तानी गरेको छ । सबैभन्दा बढी बृद्धा अवस्था सुरक्षा योजनाअन्तर्गत ५४ हजार २३८ दाबीका लागि ४ अर्ब ३४ करोड ४ लाख रुपैयाँ गरी ५ अर्ब १० करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

उक्त योजनामा ६ महिनामा ९ अर्ब २९ करोड ५४ लाख रुपैयाँ योगदान रकम संकलन भएको थियो । सूचिकृत श्रमिकको संख्या बढ्दै गएपछि लाभग्राही भुक्तानी दायित्व समेत बढ्दै गइरहेको कोषले जनाएको छ । यसैगरी कोषले सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा दिँदै आएको छ । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरे पछि सापटी योजना सुरु गरेको हो ।

कोषले सापटी योजनाअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ बाट सुरु गरेको थियो । यी ४ वटा सापटी योजनाअन्तर्गत विशेष सापटी सेवा लिने संख्या बढी रहेको कोषले जनाएको छ । योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजनामा कोषमा जम्मा भएको रकम ८० प्रतिशत लिन पाइने समेत सुविधा थप गरिएको छ ।

योगदानकर्ता विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम असी प्रतिशत रकमसम्म प्रदान गर्न सकिने प्रावधान रहेको छ ।

सामाजिक सुरक्षा योजना कार्यविधि अनुसार सुविधा भुक्तानी लिन अनलाइनमार्फत भुक्तानीका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । औषधी उपचार बापतको रकम अस्पताललाई नै भुक्तानी दिइने र पेन्सन, प्रसूति बिदा, शिशु स्याहारलगायतका सुविधा बापतको रकम योगदानकर्तालाई बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था छ । कोषमा आउने धेरै दाबी औषधी उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा परेको देखिन्छ ।

त्यसैगरी, दोस्रो, तेस्रो र चौथोमा क्रमशः वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना रहेका छन् । २०७६ साउन १ देखि संगठित निजी क्षेत्रका प्रतिष्ठान तथा श्रमिकहरुबाट, चैत्र ८ देखि वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका व्यक्ति र २०८० साउन ३१ देखि अनौपचारिक क्षेत्र, देश भित्र स्वरोजगारीमा रहेका व्यक्तिहरुबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम संकलन गर्ने कार्य सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्