Logo

पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपियो

पोखरा– पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । पोखरामा मानव निर्मित अन्तर्राष्ट्रिय झण्डा पार्क हस्तान्तरण भएसँगै नयाँ पर्यटकीय गन्तव्य थपिएको हो । संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियका गरी १९७ वटा झण्डाहरु राखिएको छ ।

उक्त झाण्डा पार्क पोखराको नयाँ पर्यटकीय गन्तव्य भएको पोखराका मेयर धनराज आचार्याले बताए । पोखरालाई पर्यटकको राजधानी घोषणा गर्नु पूर्व पोखरामा निर्माण भएका यस्ता संरचनाले विश्वका विभिन्न मुलुकबाट पोखरा आउने पर्यटकलाई आफ्नो देशको माया रहेको झण्डा पोखरामा फहराएको देख्न पाउनु उनीहरुको लागि खुसीको कुरा भएको आचार्य बताउँछन् ।

उनले भने,‘पोखरा आफैमा पर्यटकीय नगरी हो, पोखरामा आउने पर्यटकलाई आफ्नो देशप्रतिको माया झल्काउन अब पोखरामा हालै निर्माण गरिएको अन्तर्राष्ट्रिय झण्डा पार्कले थप आकर्षण गर्ने छ, यो पोखराको नयाँ पर्यटकीय गन्तव्य हो । यसको व्यापक प्रचार प्रसार गर्नु पर्छ ।’ पोखरा महेन्द्रपुलमा पहिलो शहिद भिमसेन दाहालको शालिक तथा पुस्तकालय रहेको थियो ।

उक्त स्थानमा हाल अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको हो । प्रत्येक देशको झण्डा मुनि सो देशले संयुक्त राष्ट्र संघमा सदस्यता प्राप्त गरेको मिति समेत उल्लेख गरिएको मेयर आचार्यले बताए । त्यसैगरी पार्कको बीचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ । पोखराको सेती नदीको किनारमा झण्डा पार्क निर्माण हुनुले पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्ने मेयर आचार्यले दाबी गरे ।

विश्वका प्राय: सवै देशका झण्डा एकै ठाउँमा फहराउनुले पोखराको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उनको भनाइ थियो । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमलेको सहयोगमा उक्त पार्क निर्माण भएको हो ।

यसैबीच उक्त पार्कको उद्घाटन सोमबार पोखराका मेयर आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा गरेका हुन् । उद्घाटनसँगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ । निर्देशक बुर्लाकोटीले मेयर आचार्यलाई उक्त झण्डा पार्कका साँचो समेत हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणमा लायन्स क्लवहरुले करिब ७० लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

मेयर आचार्यले पोखराको पर्यटकीय एवं पूर्वाधार विकासमा विभिन्न संघ संस्थाहरुसँग महानगरले सहकार्य गर्न तयार रहेको बताए । मेयर आचार्यले झण्डा पार्कसँगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिसप्लेलगायतका संरचना रहने उल्लेख गरे । अन्तर्राष्टिय निर्देशक बुर्लाकोटीले झण्डा पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लवका संस्थापकको समेत सम्मान भएको बताउँदै यसले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्