Logo

दूधकाे मूल्य निर्धारणमा बिचौलिया हाबी

दाङ– दूध बिचौलिया हाबी हुँदा उचित मूल्यबाट दुग्ध किसान वञ्चित भएका छन् । बिचौलियाले सस्तो मूल्यमा किसानबाट दूध लिने तर बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेको कारण किसानले उचित मूल्य पाउन नसकेको हुन् । यस्तै मारमा राजपुर गाउँपालिका भैसहवा निवासी लबकुस यादव परेका छन् । उनले प्रतिलिटर ४५ देखि ६० रुपैयाँसम्म दूध बिक्री गर्ने गर्छन् ।

खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ । उनले गाउँकै होटल तथा कलेक्सन सेन्टरमा दूध बिक्री गर्ने गर्छन । दूध उत्पादन बढी भएकोले सस्तोमा दूध बेच्नु परेको उनी बताउँछन् । उत्पादन भएको दूध फाल्नुभन्दा सस्तोमा भए पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘दुख गरेर उत्पादन गरेको दूध खेर फाल्नु भएन, त्यसैले सस्तोमा बिक्री गर्ने गरेको छु’ उनले भने । राज्यले कृषकले उत्पादन गरेको दूध खरिद गर्ने वातावरण सिर्जना गरेमा आफू जस्ता किसानलाई सहज हुने उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका– २ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैंसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक १ सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेको छन् । उनले ९० लिटर दूध डेरीलाई दिने गरेको बताए । बाँकी दूध व्यक्तिको घरमा दिने गरेको उनको भनाइ छ । डेरीलाई दूध दिँदा उनले प्रतिलिटर ७० रुपैयाँभन्दा बढी पाउँदैनन् । उनीसँग ७० रुपैयाँमा दूध राख्ने डेरीले उपभोक्तालाई प्रति लिटर १ सय रुपैयाँमा बिक्री गर्ने गर्छन् । उनले घरसम्म पुर्‍याएर दूध दिँदा ८० रुपैयाँमा दिने गर्छन् । कृषकले उत्पादन गरेको दूधको मूल्य आफैं निर्धारण गर्न नपाउने उनको भनाइ छ ।

‘मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइदैंन’ खनालले भने । स्थानीय सरकारले कृषकको समस्या बुझ्न नसकेको उनले गुनासो छ । ‘स्थानीय सरकार कृषकको समस्या बारेमा बेखबर छ’ खनालले भने । कृषकलाई प्राथमिकता दिने भने पनि त्यसको व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको उनी बताउँछन् । कृषकलाई हेर्ने दृष्टिकोण समेत फरक रहेको उनको भनाइ छ । उनीसँग अहिले गाई भैंसी गरेर २८ वटा रहेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी महेश यादबले दैनिक लमही बजारमा दूध बिक्री गर्ने गर्छन् । उनले २९ वटा भैंसी पालेका छन् । बिहानै उनी लमही बजारका गल्ली तथा डेरीसम्म पुग्ने गर्छन् । दैनिक उनले ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । प्रति लिटर ७० देखी ७५ रुपैयाँसम्ममा आफूले दूध दिने गरेको यादव बताउँछन् । आफैंले सम्बन्धित स्थानसम्म पुर्‍याउने हुँदा उनले ७५ रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । मोटरसाइकलमा उनी आफैं दूध छोड्न जान्छन । यसरी आफैंले सम्बन्धित स्थानसम्म पुर्‍याउँदा खर्च धेरै हुने गरेको उनी बताउँछन् ।

‘खर्च धेरै रहेको छ, आम्दानी न्यून रहेको छ’ उनले भने । बिहान उठेदेखि बेलुकासम्म उनलाई भैंसीको स्याहार सुसारमा भ्याइ नभ्याइ हुने गरेको छ । भैंसीको स्यार सुसार गर्ने र दूध बिक्री गर्न लमहीसम्म आउँनु उनको दैनिकी हो । धेरै मिहेनत गरे पनि सउो अनुसारको दूध कृषकले मूल्य नपाएको उनको गुनासो छ । दूधको मूल्य बढाएमा बिक्री नहुने समस्या रहेको छ । उनले भने, ‘हाम्रो निश्चित ग्राहक हुन्छन्, मूल्य बढी भन्ने बित्तिकै ग्राहक घट्छन् ।’

दूध खेर फाल्नुभन्दा सस्तोमा दिने गरेको उनी बताउँछन् । लमहीका डेरीहरूले भने प्रति लिटर ९५ रुपैयाँमा दूध बिक्री गर्ने गरेका छन् । यसरी दूधमा बिचौलियाले लिने फाइदाका बारेमा स्थानीय सरकार मौन छ । कृषकलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याउने तर समस्याबारे बेखबर बन्ने नियति नै छ ।

छलफलबाट मूल्य निर्धाणरण
घोराही उप महानगरपालिका उपभोक्ता हित शाखाका प्रमुख मोहन सिंह सुनारले छलफलबाट दूधको मूल्य निर्धारण हुने गरेको बताएका छन् । सबैको सहभागितामा बसेको बैठकले मूल्य निर्धाण गरेको उनको भनाइ छ । ‘कृषक र डेरी व्यवसायीबीच मूल्य बढाएर समायोजन गरिएको हो,’ शाखा अधिकृत सुनारले भने ।

मूल्य समायोजन अनुसार कृषकले प्रतिलिटर ७० देखि ७३ रुपैयाँसम्म पाउने गरेको उनले बताए । दूधमा फ्याटको आधारमा कृषकले मूल्य पाउने उनको भनाइ छ । कृषकबाट ७० देखि ७३ रुपैयाँमा किनेर १ सय रुपैयाँमा बिक्री गर्ने यहाँको व्यवसायनै भएको छ ।

प्रतिक्रिया दिनुहोस्