मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा दैनिक आठ घण्टा अघोषित लोडसेडिङ

विराटनगर– देशकै पुरानो औद्योगिक क्षेत्रका रुपमा रहेको मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दैनिक ८ घण्टा अघोषित लोडसेडिङ हुँदा उद्योगहरूले ५० प्रतिशत उत्पादन कटौती गरेका छन् । यसको प्रत्यक्ष असर मजदुर, सरकारको राजस्व र उपभोक्तामा परेको छ ।
नेपालकै सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल १९९३ सालमा यही क्षेत्रमा खुलेको थियो । यो उद्योग हाल बन्द छ । विगतमा घोषित रुपमा १८ घण्टा लोडसेडिङको सामना गरेका यस क्षेत्रका उद्योगीहरूले पछिल्लो समय अघोषित लोडसेडिङको सामना गर्नुपरेको छ । बैंकको चर्को ब्याज, दक्ष जनशक्तिको अभाव, आर्थिक मन्दी, चोरीपैठारी भएर आउने सामान र सस्तो लागतमा उत्पादित भारतीय उत्पादनसँगको प्रतिस्पर्धालगायत समस्याले जेलिएका उद्योगीहरू अघोषित लोडसेडिङले झनै समस्यामा परेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना बताउँछन् । अघोषित लोडसेडिङका कारण यस क्षेत्रका सबैजसो उद्योगले ५० प्रतिशत उत्पादन कटौती गरेको उनले बताए ।
हरेक दिन बिहान बिहान ७ देखि ११ र साँझ ५ देखि ९ बजेसम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती हुँदै आएको छ । यसले उद्योगलाई बढ्दो उत्पादन लागत थेग्न र श्रमिकको समय तालिका मिलाउन निकै कठिन परेको सुरानाको भनाइ छ । ‘अघोषित लोडसेडिङले यस क्षेत्रका उद्योगीहरू हैरान भएका छन्,’ उनले भने, ‘ट्रिपिङ र भोल्टेजको पनि ठूलो समस्या छ । उत्पादन प्रक्रियामा रहेको कच्चा पदार्थ पनि नोक्सान भइरहेको छ ।’
लोडसेडिङका कारण भएको नोक्सानी पैसामा तुलना हुन नसक्ने उनको भनाइ छ । उनकै शब्दमा उद्योगीहरू बैंकको किस्ता र ब्याज तिर्ने चिन्तामा छन् । आर्थिक मन्दीले बजारमा गएको सामानको पैसा उठ्ने अवस्था छैन । उद्योगीहरू मानसिक रुपमा धेरै नै चिन्तित छन् । प्राधिकरणले विद्युत कटौती हुने सूचना अनौपचारिक रुपमा उद्योगीहरूको सामाजिक सञ्जालमा सेयर गर्छ । यसबाट उद्योगले केकति श्रमिक व्यवस्थापन गर्ने भन्ने योजना नै बनाउन पाउँदैनन् । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाका अनुसार उद्योग २४ घण्टा सञ्चालन गर्दा श्रमिकको सिफ्ट मिलाइएको हुन्छ । त्यहीअनुरुप श्रमिकको व्यवस्थापन गरिन्छ । तर, औद्योगिक क्षेत्रको लोडसेडिङले उत्पादन र आपूर्ति चक्र नै चौपट बनाएको सारडाले गुनासो गरे । उनका अनुसार यो अघोषित लोडसेडिङ ६ महिनादेखि नियमित छ ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्र दुहबी, कटहरी र बूढीगंगा पर्छन् । ती क्षेत्रमा फरक–फरक फिडरबाट विद्युत वितरण हुन्छ । लोडसेडिङले सबैभन्दा बढी प्रभावित जस्तापाता, फलाम, सिमेन्ट, रिलायन्स, जुट र प्लाष्टिक उद्योग परेका छन् । ‘लोडसेडिङका कारण उद्योगको पार्टपुर्जा बिग्रिनेदेखि कच्चा पदार्थ खेर जाने समस्या बढ्दो छ,’ अध्यक्ष सारडाले भने, ‘सबै उद्योगहरू विद्युतमै आधारित छन् । जेनेरेटर सञ्चालन गर्दा प्रतियुनिट ३६ रुपैया“सम्म खर्च हुन्छ । त्यसरी उद्योग सञ्चालन गर्न सक्ने स्थिति पनि छैन ।’ विद्युतबाट उत्पादित सामानले समेत भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको बेला महँगो डिजेल प्रयोग गरेर जेनेरेटरबाट उत्पादित वस्तुले प्रतिस्पर्धा गर्ने कल्पनासमेत गर्न नसकिने सारडाको भनाइ छ ।
यस क्षेत्रमा अरिहन्त, पशुपति, हुलास, मैनाबत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्स, अन्नपूर्ण, सप्तकोशीजस्ता विभिन्न प्रकृतिका ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यी उद्योगले फलाम, जस्तापाता, मैदा, तेल, जुट, सिमेन्ट, चाउचाउलगायत वस्तु उत्पादन गर्दै आएका छन् । यो क्षेत्रका उद्योगमा ८० हजारभन्दा बढी मजदुर कार्यरत छन् । अघोषित लोडसेडिङले मजदुरसमेत कटौती गर्नुपर्ने अवस्था आएको मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले बताए ।
विद्युत प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काले आपूर्तिमै समस्या आएपछि उद्योगीलाई अनुरोध गरेर बिहान– बेलुका विद्युत कटौती गरेको बताए । उनले भने, ‘आपूर्तिमै आएको कमीका कारण औद्योगिक क्षेत्रलाई चाहिने बिजुली दिन नसकिएको हो ।’ दुहबी ग्रिडका अनुसार कोशीमा दैनिक माग २६० देखि २७० मेगावाट छ । तर, पिक आवरमा २७५ मेगावाट माग हुन्छ । दैनिक १८० मेगावाट जति बिजुली आउँछ । यसको स्रोत पश्चिमबाट भारतको मुजफ्फरपुर–ढल्केबर हो । पूर्व काबेली करिडोरबाट पनि आउँछ । यस क्षेत्रलाई ९० देखि १०० मेगावाट कमी भएको ग्रिडका प्रमुख खड्काले बताए । भारत र काबेलीबाट आएको बिजुली यतै मिसिन्छ । अहिले मिर्चैया–लहान–रुपनी–कुशाहा हुँदै सुनसरीको इनरुवाबाट पश्चिममा दुहबीतिर १६० मेगावाट र काबेलीबाट २५ मेगावाटमात्र आउँछ । काबेलीबाट दमकमा आउँछ । केही झापाको अनारमनी पठाइन्छ । बाँकी बिजुली दुहबी आउँछ र त्यहाँबाट विराटनगरतर्फ पठाइन्छ । सबै उद्योग एकै पटक नचल्ने भएकाले करिब १३० मेगावाट औद्योगिक क्षेत्रको माग छ ।
उद्योग संगठन मोरङले गरेको अध्ययनअनुसार औद्योगिक क्षेत्रमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ हुने गरेको छ । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुट मिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटकसम्म ट्रिपिङ भएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताए ।
अघोषित लोडसेडिङका विषयमा ऊर्जा मन्त्रालय, विद्युत प्राधिकरणलगायत सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको नेपाल जुट उद्योग संघका अध्यक्षसमेत रहेका उद्योग संगठनका उपाध्यक्ष राजकुमार गोल्छाले बताए । ‘उद्योगीहरूका दर्जनौं समस्या छन्, त्यसमाथि अहिले अघोषित लोडसेडिङ पनि थपिएको छ । यो देशमा उद्योग–व्यवसाय गर्नु भनेको पाप गर्नुजस्तै भएको छ,’ उनले भने ।