किसान आयस्तर आयोजनाको नाफा उच्च «

किसान आयस्तर आयोजनाको नाफा उच्च

साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाद्वारा सञ्चालित उपआयोजनाअन्तर्गतका विभिन्न व्यवसाय तथा उद्योगको नाफा निकै उच्च रहेको पाइएको छ ।
आयोजनाको पूरक अनुदानमा सञ्चालित अधिकांस उपआयोजनाको उपलब्धि एकदम उच्च नाफामूलक देखिएकाले यसको दिगो निरन्तरताको लागि जोड दिइएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले गरेको साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाको उपआयोजना तथा सरोकारवालाबीच प्रगति समीक्षा गोष्ठीमा प्रस्तुत भएका उद्योग ब्यवसायको प्रगतिअनुसार कुल लगानीमा समग्ररुपमा १ सय २८ प्रतिशतले नाफा आर्जन गरेको पाइएको छ ।
कार्यक्रममा वरिष्ठ कृषि बिकास अधिकृत कृष्णबहादुर बस्नेतले कृषि पेशाबाहेक अन्य कुनै क्षेत्रमा यस्तो नाफा प्रतिफल हुनै नसक्ने बताए । वरिष्ठ कृषि बिकास अधिकृत बस्नेतले जुनसुकै व्यवसाय गरे पनि २०/२५ प्रतिशतभन्दा बढी नाफा सम्भव नभएको भन्दै कृषि पेसामा मात्र लगानीभन्दा दोब्बर नाफा हुने गरेकाले कृषिलाई बढावा तथा संरक्षण गनुपर्ने बताए ।
साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाका आयोजना निर्देशक गोकर्णराज अर्यालले आयोजनामार्फत प्राप्त लगानी सदुपयोग गर्न अनुदानग्राहीलाई सुझाव दिए ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका व्यवस्थापक बेदबहादुर रोकायले राम्रो प्रगतिमा रहेका कृषक अनुदानग्राहीलाई शुभकामना दिँदै अन्य अनुदानग्राहीलाई पनि उत्साहित गर्नुपर्ने बताए
साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुसालले कार्यक्रमको दिगोपनालाई निरन्तरता दिन कृषि विकास कार्यालयको समन्वयकारी भूमिका महत्वपूर्ण भएको बताए ।
५२ वटा उपआयोजना सञ्चालन रहेको बाँकेमा साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाले २४ करोड १८ लाख २६ हजार ८ सय ३९ रुपैयाँ लगानी रहेको सामाजिक परिचालन तथा सहजीकरण गरिरहेको गैसस सामाजिक विकास मञ्च बाँकेकी कार्यक्रम अधिकृत पार्वती घिमिरेले बताइन् । आयोजनाले अनुदानवर्ग १ मार्फत ११ वटा, अनुदान वर्ग २ मार्फत २३ वटा तथा अनुदान वर्ग ३ अन्तर्गत १८ वटा उपआयोजना गरी ५२ वटा उपआयोजनामा अनुदान उपलब्ध गराएको कार्यक्रम अधिकृत घिमिरेले बताइन् । तीमध्ये हालसम्म ३६ वटा सम्पन्न भइसकेका छन् भने १६ वटा समापनको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्