Logo

वैदेशिक रोजगारीको उजुरी बढ्यो

काठमाडौं– वैदेशिक रोजगारीमा भएको वृद्धिसँगै उजुरी बढेको छ । सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरी पैसा असुल्न थालेपछि व्यक्तिगत ठगीको उजुरी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ ।

गत आवको साउनदेखी पुससम्म वैदेशिक रोजगारीका नाममा ६९५ उजुरी परेकोमा चालु आवको सोही अवधीमा उजुरी संख्या १ हजार १३० पुगेको छ । यद्यपी उजुरी अनुसार पीडितले पाउने क्षतिपूर्ति रकम भने घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ११ करोड ३० लाख क्षतिपूर्ति पिडकबाट उजुरीकर्तालाई भराइएको छ । गत वर्ष १६ करोड ८८ लाख रुपैयाँ पिडकबाट भराइएको वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

पछिल्लो समय वैदेशिक रोजगारसँग सम्बन्धित उजुरी संस्थागत (मेनपावर) बाट भन्दा पनि व्यक्तिगत विरुद्ध बढी पर्ने गरेका छन् । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको चालु आवको पहिलो ६ महिनाको विवरणमा ठगीको दाबी रकम दोब्बरले बढेको पाइएको छ । अघिल्लो आवको साउनदेखि पुससम्म १९ करोड ७६ लाख रुपैयाँ माग दाबी गर्दै पीडितले विभागमा उजुरी गरेकोमा गत आवमा ६ महिना अर्थात् पुससम्म यो रकम बढेर ३९ करोड ४९ लाख रुपैयाँ पुगेको थियो ।

दाबी रकम अनुसार गत वर्ष १६ करोड र चालु आवमा ११ करोड रुपैयाँ मात्र पीडितले पाएको देखिन्छ । विभागले पीडित युवाको उजुरी लिने प्रक्रियामा सहजिकरण गरेको र पीडितको संख्या वृद्धिसँगै दाबी रकम बढ्दै गएको जनाएको छ । एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रूपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाए पनि पैसा बुझ्ने व्यक्ति संस्थाको कर्मचारी नभएको विभागले जनाएको छ ।

श्रमिकबाट पैसा लिने स्थान मेनपावर परिसर बनाउँदै व्यक्तिगत रूपमा युवासँग पैसा असुल्न र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रूपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन । संस्थागत रूपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन् ।

सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भए पनि उजुरीका घटनामा भने कमी आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकोले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारख गर्नुपर्ने विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्