चीनको घट्दो जनसंख्या

विश्वको कुल जनसंख्याको ६ भाग जनसंख्यामध्ये एक भाग जनसंख्यालाई आश्रय दिई विगत दशकहरूमा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशका रूपमा रहेको चीन गत वर्षको मध्यतिर आएर दोस्रो स्थानमा झरेको छ । सन् १९९० देखि २००८ सम्म १९ करोड जनसंख्या थप गरेको चीनमा अहिले प्रतिवर्ष २० लाखका दरले जनसंख्या घट्न थालेको छ ।
सन् २०२३ को जुनदेखि भारतले चीनलाई जनसंख्यामा उछिनेको हो । चीनमा १ अर्ब ४० करोड जनसंख्या छ भने भारतमा १ अर्ब ४२ करोड जनसंख्या भई भारतमा चीनको भन्दा २ करोड जनसंख्या बढी भइसक्यो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भए तापनि प्रतिव्यक्ति आम्दानी १० हजार अमेरिकी डलरभन्दा बढी नभएका कारण चीनले सम्पन्नता हासिल गर्नुअगाडि नै यसको जनसंख्या बुढ्यौली भएको मान्नुपर्ने हुन्छ ।
केही जनसांख्यिकीय तथ्य
गत वर्ष चीनमा ९० लाख २० हजार शिशु जन्मेका थिए भने १ करोड ११ लाख १० हजार मानिसको मृत्यु भएको थियो । सन् २०२२ मा जन्मेका बच्चाहरूको संख्या ९५ लाख ६० हजार थियो । गत वर्ष राष्ट्रिय तथ्यांक ब्युरोले प्रकाशित गरेको तथ्यांकअनुसार यो वर्षको जनसंख्या गत वर्षको तुलनामा २० लाखले कमी हो । चीनको जनसंख्या लगातार दोस्रो वर्ष घटेको छ । सन् २०१० को तुलनामा २०२० मा चीनमा १५ वर्षदेखि ५९ वर्षसम्मको काम गर्ने उमेरको जनसंख्या ७० प्रतिशतबाट घटेर ६४ प्रतिशतमा झरेको छ । यस अवधिमा चीनको सहरीकरणको मात्रा ५० प्रतिशतबाट बढेर ६४ प्रतिशत पुगेको छ ।
चीनको प्रतिदम्पती कुल प्रजनन दर १.२ प्रतिशत रहेको छ, जुन पुनस्र्थापना दर २.१ प्रतिशतभन्दा कम हो । यसैगरी चीनको जन्मदर सन् २०१० मा ०.५३ प्रतिशत रह्यो, जुन २००० मा यो दर ०.५७ थियो । लैंगिक अनुपात प्रति १ सय महिलामा सन् २०१० मा १ सय १८ रहेकोमा सन् २०२० मा १ सय ११ मा झरेको छ । सन् १९८० मा चीनको कुल प्रजनन दर २.६ प्रतिशत रहेकोमा सन् २०२१ मा आएर यो घटेर १.१५ मा झरेको छ, जुन जापान र अस्ट्रेलियाजस्ता देशहरूको तुलनामा कम मानिएको छ ।
जनसंख्या घट्नुका कारण
सन् १९८० देखि एक दम्पती एक बच्चाको नीतिका कारण घट्दै गएको जन्मदर अहिले पनि कायमै रह्यो । यद्यपि, चीनले यो नीति सन् २०१६ मा नै परित्याग गरिसकेको थियो । सहरीकरणमा भएको वृद्धिले चीनमा सानो आकारको परिवार बढी रुचाइने गरेको छ । विवाह गर्ने न्यूनतम उमेरमा भएको वृद्धि र बढ्दो जीवननिर्वाहको लागतले गर्दा चीनको जनसंख्या घट्ने क्रममा रहेको देखिन्छ । पाश्चात्य मुलुकहरूमा जस्तै चीनका महिलाहरूले पनि आफ्नो वृत्ति विकासका लागि बिहे नै नगर्ने र बिहे गरे पनि छोराछोरी नपाउने प्रवृत्ति बढेको छ । अर्कातिर चीनको विगतको आर्थिक वृद्धिका बाबजुद पनि लैंगिक असमानता कायमै रहेको छ ।
चीनमा सन् २०१६ को तुलनामा अहिले आएर जन्मदर र विवाह दर्ता दर झन्डै आधाले घटेको छ । विवाह गर्ने र बच्चा जन्माउने संस्कृतिको बदलामा नयाँ पुस्तामा माया, विवाह, जन्म र परिवारसम्बन्धी धारणा अर्कै रहेको छ । कानुनले महिलालाई पुरुषसरह व्यवहार गर्नुपर्ने प्रावधान रहे तापनि महिलाको सम्पत्ति रक्षा गर्ने र उनीहरूलाई व्यवहारमा समान व्यवहारको अझै खाँचो रहेको पाइन्छ । चीनमा ब्ल्यू कलर काममा महिलाले ५० वर्षसम्म मात्र काम गर्न पाउँछन् भने ह्वाइट कलर जबमा ५५ वर्ष काम गर्न पाउँछन् । तर, पुरुषका लागि अवकाशको उमेर ६० वर्ष तोकिएको छ ।
चीनको न्याय व्यवस्थामा यदि विवाहपश्चात् सम्बन्धविच्छेद गर्नुपर्यो भने महिलाको पक्षमा धेरै कम फैसला हुने गरेको छ । विगतमा विवाह ढिलो गर्ने र विवाह गरे पनि छोराछोरी नपाउने प्रवृत्ति सहरी क्षेत्रमा मात्र केन्द्रित रहेकोमा अहिले आएर यो प्रवृत्ति ग्रामीण क्षेत्रमा पनि फैलिएको पाइन्छ । विवाह भइसकेपछि सम्बन्धविच्छेद गर्नुपर्यो भने चीनमा अलि कठिन मान्ने गरिएको छ । कोलम्बिया विश्वविद्यालयका एक जना प्राध्यापकले गरेको सर्वेक्षणअनुसार कुल सम्बन्धविच्छेद मुद्दामा ८० प्रतिशत मद्दामा पहिलो पटक न्यायाधीशले अस्वीकार गर्ने र दोस्रो पटकमा पनि ७० प्रतिशत मुद्दा अस्वीकार गर्ने गरेको तथ्य पत्ता लागेको छ ।
यसका परिणति
चीनमा पश्चिमी देशहरूमा जस्तो बलियो सामाजिक सुरक्षाको व्यवस्था भएको पाइँदैन । जनसंख्याको यो अवस्थाले गर्दा चीनमा अहिले नै वित्तीय साधन अभाव रहेको स्वास्थ्य व्यवस्था र निवृत्तिभरण व्यवस्थामा अरू दबाब पर्न गएको छ । सन् २०२७ सम्म चीनको पेन्सन व्यवस्थाका लागि १.०२ ट्रिलियन डलर रकमको आवश्यकता पर्छ । सन् २०२० मा चीनले पेन्सन सुविधाबापत कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत रकम बेहोरेको थियो भने यो रकम सन् २१०० सम्म पुग्दा २० प्रतिशत पुग्ने अनुमान गरिएको छ । अहिले १ सय जना काम गर्ने उमेरका जनसंख्याले २० जना वृद्ध मानिसलाई समर्थन गरिरहेको छ भने सन् २१०० मा आइपुग्दा यो संख्या बढेर १ सय २० पुग्ने अनुमान गरिएको छ । सन् २०१५ मा चीनमा पहिलोपल्ट काम गर्ने उमेरको जनसंख्यामा गिरावट आएपछि चीनले एक दम्पती एक बच्चाको अभियान परित्याग गरेको हो ।
यही रूपमा काम गर्ने उमेरको जनसंख्या घट्दै जाने हो भने अर्थशास्त्रीहरूले चीनले ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने निष्कर्ष निकालेको पाइन्छ । सन् २००३ मा काम गर्ने उमेरको जनसंख्यामा वृद्धिदर २ प्रतिशत रहेकोमा त्यसपछिका वर्षहरूमा घट्न थाल्यो र सन् २०१५ पुग्दा त यो ऋणात्मक हुन पुग्यो । अर्थशास्त्रीहरूले हरेक वर्ष चीनमा १० लाखका दरले काम गर्ने जनसंख्या घट्दै जाने अनुमान गरेको पाइन्छ । यसैगरी सन् २०२७ सम्ममा ६५ वर्षभन्दा माथिको जनसंख्या कुल जनसंख्याको १४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चीनले घट्दो जनसंख्यालाई ध्यानमा राखेर औद्योगिक प्रतिष्ठानहरूमा रोबोटको प्रयोग थालेको छ र यस्तो रोबोट प्रयोग गर्ने उद्योगहरूलाई सरकारले अनुदान पनि दिन थालेको छ ।
सरकारी प्रयत्न
हालको जनसंख्यालाई वृद्धि गर्न चीन सरकारले केही सुविधाहरूको पनि घोषणा गरेको छ । यसमा सस्तो आवास दिने, करमा छुट दिने र नगद अनुदान दिने व्यवस्था उल्लेख भएको पाइन्छ । सरकारले महिलाहरूलाई आमा बनी देशभक्ति देखाउन अनुरोध गरेको छ । चिनियाँ नीति निर्माताहरूले जनसंख्यारूपी लाभांशबाट लाभ प्राप्त गर्न थप उपायहरू नसोचिरहेको होइन । एकातिर चीनको उच्च तहका नेतृत्वले महिलाहरूलाई पुरानै भूमिकामा फर्की विवाह गरी बच्चाहरू जन्माउन जापानमा सिन्जो आबेले आग्रह गरेजस्तै जनतालाई आग्रह गर्न थालेका छन् भने अर्कातिर प्रविधि र अर्टिफिसियल इन्टेलिजेन्सलाई बढावा दिई यसको समस्या समाधान गर्न खोजिरहेको छ ।
यदि यसलाई समयमै सम्बोधन गरिएन भने एकातिर चीनले गर्ने उत्पादन नै घट्ने र अर्कातिर चीनको भविष्यको राइजमा प्रत्यक्ष असर पर्ने कुरामा उनीहरू सजग रहेको देखिन्छ । यसले चीनका नीति निर्माताहरूलाई २०४७ सम्ममा विश्वको सबैभन्दा शक्तिशाली देश बन्ने जुन लक्ष्य छ, त्यसलाई आघात पुर्याउने सम्भावना प्रबल भएको छ । चीनले घट्दो जनसंख्यालाई ध्यानमा राखेर औद्योगिक प्रतिष्ठानहरूमा रोबोटको प्रयोग थालेको छ र यस्तो रोबोट प्रयोग गर्ने उद्योगहरूलाई सरकारले अनुदान पनि दिन थालेको छ ।