Logo

आगलागी नियन्त्रणका गर्न डिप बोरिङबाट पानी निकालिँदै

विराटनगर– विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो ।

मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताए । बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो ।

‘पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपथ्र्यो,’ मेयर कोइरालाले भने, ‘अब बजार र दक्षिणी क्षेत्रमा लागलागी भएमा पानी सकिने बित्तिकै सनसारीमाईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । जसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।’ अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताए । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो ।

सनसारीमाईस्थानको डिप बोरिङबाट पाँच हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ । पुष्पलाल चोकको डिप बोरिङबाट पाँच हजार लिटरको दमकमल भर्न पाँच मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले बताए ।

बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो । महानगरले छिट्टै नै विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्