कर्णाली उत्सव सुरु

सुर्खेत– पाँचौं संस्करणको कर्णाली उत्सव सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको बुलेबुले उद्यानमा शनिबारदेखि उत्सव सुरु भएको हो । उक्त उत्सवको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्दै उत्सवले आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुर्याउने बताए ।
हरेक खाले बहसकै निरन्तरतानै आर्थिक सामाजिक, राजनीतिक र साँस्कृतिक विकासको जग भएको उनको भनाइ थियो । नीति निर्माण, आर्थिक समृद्धि तथा कर्णाली चिन्न चिनाउन, यहाँका सम्भावनाको पहिचान र लगानी मैत्री वातावरण सिर्जनका लागि कर्णाली उत्सव जस्ता कार्यले पुलको काम गर्ने परियारले बताए ।
उनले भने,‘समृद्ध कर्णाली निमार्णका लागि विगत चार वर्षदेखि छेडिएको यो बहसले कर्णालीको विकास र नीति निर्माण तहमा बसेकालाई जबाफदेही बनाउन मद्दत गरेको छ । कर्णालीमा गरिबी, अशिक्षा, बेरोजगारी मात्रै छैन । यहाँ कृषि, पर्यटन, जडीबुटी, भाषा, साहित्य र संस्कृतिको प्रचुर सम्भावना छन् । काठमाडौं बसेर कल्पना गरिएको भन्दा कर्णाली फरक छ भन्ने देखाउँन पनि यो बहसले विशेष महत्व राखेको छ ।’ भौतिक विकासले मात्रै समाजमा रुपान्तरण सम्भव नरहेकोले सामाजिक रुपान्तरणका लागि तीनै तहका सरकारले नागरिकका गुनासो सुन्ने पद्धतिको विकास गर्नु पर्नेमा उनले जोड दिए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बहसमा लगानी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले नीति बहसको महत्व, नेपाल सरकारका सचिव केवल भण्डारीले कर्णाली प्रेमबारे अनुभव राखेका थिए । श्रेष्ठले कर्णाली उत्सवसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘बैंकले व्यापारिक प्रवर्द्धनका लागि मात्र लगानी गर्दैन’,उनले भने,‘दुर्गम क्षेत्रको विकास तथा सरकारलाई नीति निर्माणमा सघाउ पुर्याउन, दूरदराजका समस्याहरूको विषयमा विर्मश हुने कर्णाली उत्सव जस्ता विचारका कार्यक्रममा बैंकले लगानी गर्दै आएको छ ।’
वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले यस्ता विचार तथा विमर्शले सरकारका नीति निर्माण गर्न तथा जनमैत्री काम गर्नका लागि आवश्यक सुझाव प्राप्त हुने बताइन् । उनले भनिन,‘झट्टा हेर्दा कुरा गरेर के हुन्छ भन्ने प्रश्न आउन सक्छ ? कुरा नगरी घरदेखि सरकारको कुनै काम अघि बढ्न सक्दैन । कर्णाली केन्द्रित राष्ट्रिय स्तरको बहसले कर्णालीको विकासमा केन्द्रलाई थप जिम्मेवार बनाउन मद्दत गर्छ । त्यसैले पनि यस्ता बहसको निरन्तरता जरुरी छ ।’
विगत चार वर्षदेखि हुँदै आएको कर्णाली उत्सवको अनुभव साट्दै कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले गरिबी, अशिक्षा, रोग भोगको उपनामले चिनिने कर्णालीको बिम्ब बदल्न अनवरत यात्रा जारी रहेको बताए । उनले कर्णाली उत्सव कर्णाली समृद्धिको आधार बन्ने अपेक्षा गरेकोमा जोड दिए ।