Logo

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिबेदन

विराटनगर महानगरलाई ७४५ अंक प्राप्त

विराटनगर– लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले महानगरका मेयर नागेश कोइरालालाई प्रतिवेदन हस्तान्तरण गरे ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार लैससासको स्थिति स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरले पनि लैससास सम्बन्धी आफ्नो परीक्षण प्रतिवेदन तयार पारेको हो । लैससासको सय वटा सूचकमा आधारित रहेर परीक्षण प्रतिवेदन तयार पारिएको उपाध्यायले बताए । जसमा एक सय पूर्णांकमा ७४.५ अंक प्राप्त गर्न महानगर सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ७०.५ अंक थियो । लैससासको स्थितिमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नीति, कानुन तथा योजना, संस्थागत व्यवस्था, मानव सशांधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मुख्य विषय रहेको लैससास परीक्षणमा २२ वटा सहायक विषय र एक सयवटा सूचकमा केन्द्रित रहेर परीक्षण गरिएको थियो । जसमा गत पुस २५ र २९ गते दुईवटा लैससास परीक्षण कार्यशालासमेत सञ्चालन गरिएको थियो ।

कार्यशालामा सरोकारवाला सबैको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीले सयवटा सूचकमा अंक प्रदान गरेका थिए । प्रतिवेदन बुझ्दै मेयर कोइरालाले लैससास परीक्षण प्रतिवेदनले उठाएका सवाल सम्बोधन गर्दै महानगरपालिकालाई कसरी सर्वोत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैलाई पहल र प्रयास गर्न आग्रह गरे ।

उपमेयर कार्कीले परीक्षण प्रतिवेदन गहन अध्ययन र सरोकारवालाको सहभागिताबाट तयार पारिएको बताइन् । प्रतिवेदनले महानगरको लैससासको पछिल्लो अवस्था के थियो भन्ने प्रस्ट भएको कार्कीले बताइन् । चालु आर्थिक वर्षमा लैससासको स्थितिलाई अझै सुधार गर्न आवश्यक कार्यक्रम सञ्चालन आइसकेको उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडा–१ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा–९ का अध्यक्ष विश्वनाथ भगत, कार्यपालिका सदस्य सरिता घिमिरे, खुश्बु विश्वकर्मा, महानगरका सामान्य प्रशासन प्रमुख अर्जुन थपलिया, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनी, कानुन शाखाकी प्रमुख शारदा थपलिया, सूचना अधिकारी अनिता कोइरालालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्