Logo

नेपालमा पर्यटक १६ वर्षमा एक करोड

सन् २०२३ मा नेपालका पर्यटन व्यवसायीहरूले अपेक्षा गरेभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । किनभने सन् २०२३ मा पुग–नपुग १० लाख विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउलान् कि भन्ने अपेक्षा गरिएको थियो । तर, सन् २०२३ मा १० लाख १५ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन संख्याले हामीलाई धेरै खुसी तुल्याएको छ । हुन त नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट पेस गर्दाखेरि नै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गर्नुभएको थियो ।

तर, धेरैजसो पर्यटन व्यवसायीले नै नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले लिएको १० लाखको सो लक्ष्य अलि नपुग्ला कि भन्ने आशंका गरेका थिए । यो पंक्तिकारले त अझ ९ लाख ७०–७५ हजारदेखि ९ लाख ८०–८५ हजारसम्म पुग्ला कि ? भन्ने अनुमान गरेको थियो । हुन पनि मैले केही लेखमा सन् २०२३ मा १० लाख विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउँदै आउँदैनन् भनी लेखेको साँचो हो । तर, मैले अलिकतिले फेल खाएँ ।

खासमा सन् २०२३ को डिसेम्बर महिनामा विगत वर्षका डिसेम्बरमा भन्दा धेरै नै राम्रो संख्यामा विदेशी पर्यटक नेपाल भ्रमण गर्न आए । त्यसैले सन् २०२३ मा सहजै १० लाख विदेशी पर्यटकको संख्या पुगेको मात्रै होइन कि १० लाख १४ हजार ८ सय ७४ नै पुगेको छ । फेरि पनि भन्नुपर्दा हामीलाई यसले सुखद नै अनुभूति गराएको छ ।

अरू बेला हेरी यसपटक अलि छिट्टै सन् २०२४ जनवरी १ को बेलुकीपख नै नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको वर्षभरिको तथ्यांक प्रकाशित गर्यो । सो तथ्यांकअनुसार सन् २०२३ को डिसेम्बरमा मात्रै ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन तथ्यांक विगत वर्षका डिसेम्बरको तुलनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अनपेक्षित रूपले बढेको थियो । हुन पनि तथ्यांककै कुरो गर्दा सन् २०२३ को अन्तिम महिना (डिसेम्बर) को दुई दिन बाँकी छँदै २०८० साल पुस १४ गते १० लाख ८ हजार ६ सय १४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेको भनी नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई उद्धृत गर्दै नेपाली र विदेशी सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका थिए । यसमा भारतको भूमि हुँदै नेपाल भ्रमण गर्न आएका सबै विदेशी पर्यटकको तथ्यांक समेटिएको छैन । त्यसैले अहिलेको १० लाख १४ हजार ८ सय ७४ जना विदेशी पर्यटकको जुन संख्या छ, त्यसमा अरू बढी पर्यटकको संख्या थप हुन सक्ने देखिन्छ ।

त्यसो त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तथ्यांकअनुसार सो वर्ष ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो संख्या सन् २०१७ को तुलनामा २४.८ प्रतिशतले बढी थियो । त्यस्तै गरेर सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन्् २०१६ को तुलनामा २४.८ प्रतिशतले नै बढी संख्या थियो । सन् २०१७ र २०१८ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको वृद्घिदर बराबरै थियो ।

त्यस्तै गरेर सन् २०१६ मा ७ लाख ५३ हजार २ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माइनस ०.९ प्रतिशतले कमी थियो । त्यस्तै सन् २०१५ मा चाहिँ केवल ५ लाख ३८ हजार ९ सय ७० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारणचाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी गर्नु रहेको थियो । हुन पनि उक्त वर्ष ठूलो पैमानामा विदेशी पर्यटकको आगमनमा कमी आयो । अर्थात् एकैचोटि लगभग एकतिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा गिरावट आयो । तथ्यांककै आधारमा भन्नुपर्दा सन् २०१५ मा माइनस ३१ प्रतिशतले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको थियो । उता सन् २०१४ मा भने ७ लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने यो संख्या सन् २०१३ को तुलनामा ०.९ प्रतिशतले कमी थियो ।

त्यस्तै गरेर सन् २०१३ मा पनि ७ लाख ९७ हजार ६ सय १६ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यो तथ्यांक हेर्दाखेरि सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यासँग तुलना गरेर हेर्दा ०.७ प्रतिशतले कमी रहेको थियो । हुन पनि सन् २०१२ मा ८ लाख ३ हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् २०११ को तुलनामा ९.१ प्रतिशतले बढी थियो । त्यस्तै गरेर सन् २०११ मा ७ लाख ३६ हजार २ सय १५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या भनेको सन् २०१० को तुलनामा २२.१ प्रतिशतले बढी थियो ।

सन् २०१० मा चाहिँ ५ लाख २ हजार ८ सय ६७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २००९ मा ५ लाख ९ हजार ९ सय ५६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तथ्यांकअनुसार यो भनेको सन् २००८ को तुलनामा १.९ प्रतिशतले बढेको थियो, विदेशी पर्यटकहरूको नेपाल आगमनको संख्या । त्यस्तै गरेर सन् २००८ मा ५ लाख २ सय ७७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो तथ्यांक भनेको सन् २००७ को तुलनामा माइनस ५ प्रतिशत रहेको थियो । जे होस्, यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक हेर्दा सन् २००८ देखि सन् २०२३ को १६ वर्ष लामो अवधिमा बल्ल १ करोडभन्दा केही बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अर्थात् विगत १६ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १ करोड ३ लाख ८३ हजार पुगेको छ ।

जबकि हाम्रो देशको सरकारले नै विगत १२–१३ वर्षदेखि वार्षिक रूपमा कम्तीमा १०–१२ लाख, १५ लाख, २० लाख विदेशी पर्यटक ल्याउने भनी घोषणा गर्दै आएको छ । अझ राजनीतिक दल र तिनका नेताहरू त वार्षिक २५ लाख, ३० लाख, ३५ लाख, ४० विदेशी पर्यकट नेपाल भित्यार्उने भनी भाषण गर्छन्, घोषणापत्रमा लेख्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्