तातोपानी नाकाबाट पनि भित्रिए भेडा च्यांग्रा «

तातोपानी नाकाबाट पनि भित्रिए भेडा च्यांग्रा

सिन्धुपाल्चोक-काठमाडौंलगायत सिन्धुपाल्चोक र आसपासका जिल्लाका लागि दशैं लक्षित भेडाच्यांग्रा पाँच वर्षपछि चीनबाट तातोपानी नाका हुँदै भित्रिएका छन् । भूकम्पपछि जेठबाट नाका सञ्चालनमा आएपछि गत शनिबारबाट फेरि बन्द भएको नाका सूचारु भएसँगै भेडा च्यांग्रा भित्रिएका हुन् ।
अविरल वर्षाका कारण साताअघि चीनको न्यालम खासाक्षेत्रस्थित रमितेको सडक भास्सिएपछि नाका ठप्प भएको थियो । भास्सिएको सडक मर्मत गरेपछि शुक्रबार तातोपानीमा भेडाच्यांग्रा आइपुगेका हुन् ।
२०७२ को भूकम्पबाट बन्द रहेको तातोपानी नाका सञ्चालन भएपछिको आउँदो दशैं पहिलो हो । नाका सुचारु भएपछि सिन्धुपाल्चोक चौतारा, जुगल गाउँपालिका, बाह्रविसे, तातोपानीलगायतका व्यापरी भेडा च्यांग्रा लिन चीन गएका थिए । खासा क्षेत्रमा भेडाच्यांग्रा लिएर केही दिन अघि आइपुगेका व्यापारी बाटो बिग्रिएका कारण नाका बन्द रहेकाले उतै रोकिएका थिए । बिहीबार चिनियाँ पक्षले भेडाच्यांग्राको क्वारेन्टाइन गरेसँगै सडक सञ्चालनमा आएपछि भेडाच्यांग्रा नेपाल भित्रिएका हुन् ।
भूकम्पपछि बन्द रहेको तातोपानी खाका खुलेपछि पहिलोपटक भेडाच्यांग्रा ल्याइएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले जानकारी दिए । ‘भेडाच्यांग्रा ल्याउने क्रम जारी छ, अझै धेरै संख्यामा ल्याइँदैछ’ उनले भने, ‘अहिले पहिलो चरणमा एघार सय भेडा च्यांग्रा भित्रिएको छ ।’ अझै झण्डै ५० जना व्यापारीले भेडाच्यांग्रा ल्याउँदै गरेको उनले जानकारी दिए । भेडाच्यांग्रा लिन गएको व्यापारीले एक महिनाको पास बनाएर गएका थिए ।
‘चीनबाट भेडा ल्याउन निकै गाह्रो भयो, क्वारेन्टाइन परीक्षण निकै कडा गरिएको छ’ भेडाच्यांग्रा लिन चीन छिरेका जुगल गाउँपालिकाका व्यवसायी जगत थापाले भने, ‘खान योग्य छ छैन, कुनै रोग भए नभएको जाँच गरेर बिक्रीका लागि योग्य भएको प्रमाणित गरेका भेडाच्यांग्रा नेपाल भित्र्याइएको हो ।’ उनका अनुसार चीनको न्यालाम, कुती, खासा क्षेत्रबाट नेपाली व्यापारीले भेडाच्यांग्रा ल्याउँदै गरेका छन् ।
दशैंलक्षित भेडा च्यांग्रासँगै लसुन, स्याउ, तयारी पोशाक ल्याउनका लागि कन्टेनरहरु खासा छिरेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । ७० बढी कन्टेनर बाटो खुलेपछि चीन प्रवेश गरेका हुन् । केही दिनअघि दशै लक्षित स्याउ, पस्मिनाजस्ता अत्यधिक भारका सामाग्री बोकेको दुई दर्जन कन्टेनर तातोपानी नाका हुँदै राजधानी पुगेका थिए । भेडाच्यांग्रापछि दशैं लक्षित तयारी पोशाक धेरै भित्रिने कार्यालयको अनुमान छ । भूकम्पअघि यो नाका हुँदै भित्रिने सामग्रीमा सर्वाधिक राजश्व तयारी पोशाकबाट संकलन हुने गर्दथ्यो ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्