बाँकेमा नियमित बजार अनुगमन «

बाँकेमा नियमित बजार अनुगमन

नेपालगञ्ज-बाँकेमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । व्यवसायीले दशैं, तिहार लगायतका चाडबाड नजिकिदैं गर्दा मूल्य वृद्धि गरेर कृतिम अभाव सिर्जना गरेको गुनासो आइरहेका बेला संयुक्त बजार अनुगमन टोलीले नियमित बजार अनुगमन गरिरहेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ठोस कार्ययोजनाका साथ नियमित रुपमा बजार अनुगमन गरिीहेको बताए । ‘केही दिनअघि जिल्लाका सरोकारवालाहरुको बैठक बसेर आपूर्ति तथा बजार व्यवस्थापन सम्बन्धमा छलफल गरेका छौं’ उनले भने, ‘त्यसै अनुरुप नियमित बजार अनुगमन कार्यलाई निरन्तरता दिएका छौ ।’
अनुगमन समितिले गत बुधबार नेपालगञ्जको एक राइस मिललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै समितिले उपभोक्ता संरक्षण ऐन अनुसार ५० हजार जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इन्डस्ट्रिजद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोबार गर्न सात दिनको म्याद दिएको छ ।
निमित्त प्रमुख पौडेलले नियमित रुपमा बजार अनुगमन गरिरहेको बताउँदै स्थानीय तहको साथ भए थप प्रभावकारी हुने बताए । श्रावण र भदौमा जिल्लाको नेपालगञ्ज, कोहलपुर, खजुरा, राप्तीसोनारी र बैजनाथमा गरी एक सय भन्दा बढी पसलमा अनुगमन गरिएको उनको भनाई छ । जिल्लामा बजार अनुगमन फितलो हुँदा व्यवसायीहरुले मनपरी मूल्यवृद्धि गर्नुृका साथै, म्याद नाघेका गुणस्तहिन खाद्यवस्तु बिक्री वितरण हुँदै आएको उपभोक्ताहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्