नेपालगन्ज–जनकपुर हवाई उडानको तयारी

नेपालगन्ज– यति एयरलाइन्सले नेपालगन्ज–जनकपुर सिधा हवाई उडान गर्ने तयारी गरेको छ । दुई धार्मिक सहरबीचको आवागमन सहज बनाउन सुरुमा प्रवर्द्धनात्मक उडान गर्ने र यात्रुको माग तथा चापलाई मध्येनजर गरी नियमित उडानबारे थप निर्णय लिने एयरलाइन्सले जनाएको छ ।
यति एयरलाइन्सका नेपालगन्ज प्रमुख दिलीप कार्कीका अनुसार जनकपुरस्थित जानकी मन्दिर दर्शन गर्नका लागि नेपालगन्जबाट फागुन ५ गते र ७ गते प्रर्वद्धनात्मक उडान हुनेछ । दिउँसो १ः४० बजेको सो उडानमा नेपालगन्जबाट ७२ जना यात्रु लिएर जनकपुरस्थित विमानस्थलमा अवतरण गर्ने छ ।
एक घण्टा ३० मिनेटको उडान पश्चात त्यहाँका विभिन्न धार्मिक स्थलको अवलोकन गरी उडान जनकपुरबाट ३ः२५ बजे फिर्ता उडान भर्ने कार्यक्रम तय गरिएको छ । एयरलाइन्सले नेपालगन्ज जनकपुर एकतर्फी हवाई उडानको भाडा आठ हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ ।
एयरलाइन्सका नेपालगन्ज प्रमुख कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा देशका दुई ऐतिहासिक सहरबीच धार्मिक सम्बन्ध कायम गर्ने उद्देश्यले अहिले प्रवर्द्धनात्मक उडान गरिएको बताए । ‘अहिलेलाई चार्टर उडान गरी प्रवर्द्धनात्मक हवाई उडान हो,’उनले भने, ‘नियमित यात्रा गर्ने यात्रुको चाप, माग र अवस्थालाई हेरेर नियमित उडानबारे थप निर्णय गर्नेछौं ।’
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा हुन लागेको उडानले दुई सहरबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनले यो उडानलाई लिएर नेपालगन्ज र जनकपुर दुवै ठाउँमा एक बेग्लै प्रकारको उत्साह देखिएकाले उडान सफल हुने विश्वास व्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–जनकपुर हवाई उडानले यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा ठूलो मद्दत गर्ने जनाउँदै यसले पश्चिमदेखि पूर्वलाई सोझै जोड्ने काम गरेकोले महत्वपूर्ण रहेको बताए ।