Logo

रोजगारीकै लागि दैनिक दुई हजार युवा देश छोड्न बाध्य

काठमाडौं– दैनिक २ हजार युवाले देश छाड्ने गरेका छन् । स्वदेशमा रोजगारीका नयाँ क्षेत्र सिर्जना हुन नसक्दा युवाहरू देश छोड्न बाध्य भएका हुन् । चालु आर्थिक वर्षको सात महिनायता दैनिक औसत १ हजार ९२९ र मासिक औसत ५७ हजार ८५७ युवा खाडी तथा मलेसियालगायतका श्रम गन्तव्यमा गएका छन् । आन्तरिक रोजगारी क्षेत्र संकुचित बन्दै जादा विकल्प खोज्दै बिदेसिने संख्या चालु आवमा पनि उच्च देखिने भएको छ । यसरी विदेश जानेमध्ये माघमा मात्र ६२ हजार १४७ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विगत २ वर्षअघिको सामान्य अवस्थामा नेपालबाट मासिक औसत ४० हजार युवा मात्र वैदेशिक रोजगारीमा जाने गरेकोमा २ वर्षयता यसको दरमा वृद्धि भएको हो । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विगत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या विगत वर्ष जस्तै ७ लाखभन्दा बढी हुने देखिएको छ । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि माघसम्मको तथ्यांकले लगभग साढे ४ लाख ५ हजार ४५३ बिदेस पुगेका छन् ।

वैदेशिक रोजगार विभाग, ताहचल कार्यालयका निर्देशक लोकनाथ भुसालले चालु आवमध्ये पछिल्लो ३ महिनायता वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिनेको संख्या बढेको बताए । गत आर्थिक वर्षको ७ महिनामा ४ लाख ६२ हजार २८४ युवाका लागि श्रम स्वीकृति जारी भएकोमा यो वर्ष ५६ हजार ८०० घटेर ४ लाख ५ हजार कायम भएको छ । चालु आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिकमा ४३ हजार, मंसिरमा ७१ हजार, पुसमा ६५ हजार र माघमा ६२ हजारले श्रम स्वीकृति लिएको देखिन्छ ।

गत आवको यो अवधिको तुलनामा चालु आवमा ५६ हजार कम श्रमिकले श्रम स्वीकृति लिएको विभागको तथ्यांक रहेको छ । तर पनि ठूला चाडपर्व सकिएका कारण आगामी ५ महिनामा बढ्ने विभागको अनुमान छ । पछिल्लो समय साउँदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जानेको संख्या बढ्दो क्रममा रहेको छ । माघ महिनाको तथ्यांकले खाडी राष्ट्रमध्ये पनि यूएइ जानेको संख्या बढेको देखाएको छ ।

यसरी नै कतार, मलेसिया, साउदी अरब, कुवेत, बहराइन, कोरिया जाने युवाको संख्या पनि उच्च रहेको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सातौं महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि नेपाल आउने रेमिटेन्स वृद्धि हुने देखिन्छ । लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत डेड वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड कायम गर्न थालेको छ । साउनपछि मासिक औसत ५७ हजार युवा रोजगारी खोज्दै विदेश गएका छन् ।

विभागका काठमाडौं कार्यालय ताहाचलका अनुसार पछिल्लो कोरोना संक्रमणदर प्रभावकारी नभएपछि वैदेशिक रोजगारी जान श्रम स्वीकृति लिनेको संख्या बढ्दो क्रममा देखिएको हो । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगतका २ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ ।

अघिल्ला २ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यको रोजगारीमा जाने युवाको संख्या क्रमशः घट्दो दर रहेको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ । अघिल्लो आवमा ७ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्