अढाई करोड लगानीमा मोफसलको पहिलो ‘वाटर पार्क’ «

अढाई करोड लगानीमा मोफसलको पहिलो ‘वाटर पार्क’

औद्योगिक र ब्यापारिक ‘हब’ बन्दै गएको रुपन्देहीमा जल पर्यटन व्यवसायमा पनि लगानी बढ्न थालेको छ । सोही क्रममा रुपन्देहीको तिलोत्तमा नगरवापलका–९ मंगलापुरमा काठमाडौं बाहिरकै पहिलो ठूलो लगानीको वाटर पार्क सञ्चालनमा आएको छ ।
७ वर्ष दक्षिण कोरियामा बस्दा ४ वर्ष वाटर पार्कमै काम गरेर अनुभव बटुलेका बुटवल चाँदबारीका कृष्ण खनालको सोंच अनुसार लुम्बिनी हेल्थ वाटर किङ्डम प्रालिमार्फत साढे दुई करोड रुपैयां सामूहिक लगानीमा सिद्धार्थ राजमार्ग छेउमै ४४ कठ्ठा क्षेत्रफलमा यो वाटर पार्क सञ्चालनमा ल्याएको हो । पार्क निर्माणको काम तीन वर्षअघिबाट सुरु भएको थियो ।
वाटर पार्क यस क्षेत्रमै नौलो व्यवसाय हो । वाटर पार्कमा बयस्कहरुका दुई वटा स्लाइडर सहितको ठूलो पूल (पोखरी), एउटा वेभ (छाल) पूल र तीनवटा स्लाइडरसहित एउटा टाइड्स (बच्चाको) पूल रहेका छन् । वाटर पार्क बीचभागमा रेष्टुरेन्ट र वरिपरि वाटर बोटिङ (डुंगा शयर) का लागि पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको प्रा.लि.का अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिए । पार्कमा बोडी वास रेम्बो, रेन डान्स, ट्युब स्लाइडर र थरिथरिका वाटर फाउन्टेनहरु आकर्षणका रुपमा रहेका छन् । वाटरपार्क एकहजार जना क्षमताको हो । निकट भविष्यमै स्पा,साउना बाथ, बोडी मसाजका लागि पुर्वाधार विकास गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । वाटर पार्कभित्र पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्थान र सुरक्षा गार्ड,सेफ्टी गाइडहरुको व्यवस्था गरिएको प्रा.लि.का संचालक माधव नेपालले जानकारी दिए । पार्कभित्रै पूर्णतया भेजिटेरियन रेन रेष्टुरेन्ट पनि संचालनमा ल्याउन लागिएको छ । वाटर पार्कमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका संचालक कृष्ण खनालले बताए । रुपन्देहीमा बढ्दो जनघनत्व, भैरहवामा अन्तराष्ट्रिय विमानस्थल, बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र जस्ता पुर्वाधार विकासको क्रममा रहेकाले यो व्यवसाय सफल हुने ठानेर लगानी गरिएको प्रालिका अध्यक्ष पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्