सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् ।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।
विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै दाहालले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए । दाहालले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहबाट सुझाव संकलन गरिएको थियो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ समूहबाट र आज सात टोलीबाट सुझाव प्रस्तुत गरिएको थियो ।