मोदीखोलामा मोटरेबल पुल निर्माण गर्न माग

पर्वत– पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बासिन्दाले मोदीखोलामा मोटरेबल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा मोटरेबल पुल निर्माणको माग गरेका हुन् ।
पर्वतको कुश्मा नगरपालिका–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने मोटरेबल पुलको माग गरिएको हो । परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्राक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन ।
पुल निर्माण भएमा यो सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधिसमेत छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष महेन्द्रजंग लामिछानेले जानकारी दिए । स्थानीयबासीले गण्डकी प्रदेश सरकारसँग पुल निर्माणका लागि बजेट माग गरेका हुन् । गत सोमबार पर्वत आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई निर्माणस्थलमै लगेर पुलको योजना हन्तान्तरण गरिएको हो ।
कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका जनप्रतिनिधिले संयुक्त रूपमा योजना हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्न माग गरेका हुन् । योजना ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीयबासीले राखेको मोटरेबल पुल निर्माणको योजना जायज रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यहाँहरूले माग्नुभएको योजना महत्वपूर्ण छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर पुल निर्माण गर्न पहल गर्छौं ।’ ठूलो लगानी लाग्ने भएकाले सम्भवतः चालु आर्थिक वर्षमै बहुवर्षीय योजनाअन्तर्गत समावेश गर्ने उनको प्रतिबद्धता छ । गत वर्ष गण्डकी प्रदेशका पूर्वसांसद ललितकला गुरुङ संसद् विकास कोषको रकमबाट १० लाख रुपैयाँ विनियोजन गरी पुलको डीपीआरसमेत बनाइएको छ ।
डीपीआरमा पुल निर्माणको कुल लागत १० करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ भने यसको लम्बाइ ७५ दशमलव ६ मिटर हुनेछ । मोटरेबल पुलको विस्तृत योजना प्रतिवेदन तयार पारेर प्रदेश सरकारमा बुझाइएको भए पनि बजेट विनियोजन नभएपछि निर्माणस्थलमै मुख्यमन्त्रीलाई लगेर योजना माग गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिए ।
यो पुल निर्माण भएमा पर्वतको मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर, पकुवा क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा मोदीको वडा नं. ६ र कुश्माको वडा नं. ८ ले समेत पुल निर्माणका लागि सिफारिस गरिएको कुश्मा नगरपालिका–८ का अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।