Logo

भूकम्प प्रभावित क्षेत्रमा निर्माणको जनशक्ति तयार हुँदै

सुर्खेत– भूकम्प प्रभावित पालिकामा निर्माण कार्यका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित आवास तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम लिई जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए ।

भेरी नगरपालिका, नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा तालिमका काम हुने उनले बताए । १५ दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डर्कमी तालिम दिएर स्थानीय युवालाई भवन निर्माण गर्न सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । भेरी नगरपालिका–१ पिपेमा १० जना, नलगाड नगरपालिका–३, ७ र १२ मा ३० जना डर्कमी उत्पादन गरिएको छ ।

त्यस्तै अन्य ठाउँमा समेत तालिमको व्यवस्था गरी जनशक्ति उत्पादनको काम सुरु भएको कार्यालयले जनाएको छ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डर्कर्मीको अभाव हुन नदिन र अदक्ष डकर्मीका कारण आउने समस्य हल गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले यो गाउँगाउँमा तालिम दिन सुरु गरेको भडेलले जानकारी दिए । १० कलस्टरमा दिइने उक्त तालिमले जिल्लामा निर्माणका काममा सहयोग हुने कार्यालयले अपेक्षा गरेको छ ।

नलगाडमा तीन कलस्टरमा, भेरीमा दुई कलस्टरमा तालिम दिइएको छ । अन्य पालिकामा पनि यही तालिकाअनुसार सीप सिकाउने तालिम दिन लागिएको छ । दक्ष जनशक्ति प्रयोग गर्नका लागि बाहिर जिल्लाको सहयोग लिनुभन्दा स्थानीय युवालाई तालिम दिएर सीप सिकाएर रोजगारीको सिर्जना गर्न यो पहल थालिएको हो । अहिले जिल्लामा सबै ठाउँमा अस्थायी आवासको निर्माणको काम चलिरहेको छ । ४२ हजार ५२४ वटा भूकम्प प्रतिरोधात्मक घर जाजरकोटका सात पालिकामा निर्माण हुनेछन् ।

६ हजार ६३४ भेरीमा, नलगाडमा ८ हजार ९७, छेडागाडमा चार हजार २५६, बारेकोटमा पाँच हजार ५८६, कुशेमा पाँच हजार ८८७, जुनिचाँदे गाउँपालिकामा तीन हजार २११ र शिवालय गाउँपालिकामा तीन हजार ३०९ वटा घर निर्माण हुनेछन् । सोही संख्यामा अस्थायी आवाससमेत निर्माणको काम चलिरहेको छ । १९ हजार ७०१ वटामात्र अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्