भोलिदेखि मौसममा सुधार
काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको छ ।
उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने महाशाखाका मौसमविद् राजु प्रधानाङ्ग जानकारी दिए । अहिले संघीय राजधानी काठमाडौंसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौंका केही स्थानमा छिटफुट वर्षा भएको छ ।
आज रातिको समयमा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ ।