Logo

जनताको माग सम्बोधन भएको छ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार गठन भएसँगै जनताको माग सम्बोधन गर्ने गरेको बताएका छन् ।

गण्डकी प्रदेश सरकार स्थापना दिवसको सन्दर्भमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले नजिकको सरकार भएको हुदा प्रदेशबाट धेरै जनता लाभान्वित भएको दाबी गर । ‘विगतमा जनताका प्रश्न सिधै सरकार समक्ष आउन सक्दैन थिए, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्ने सक्ने अवस्था सिर्जना भएको छ’ उनले भने, ‘मलाई १० हजार जनाले करिब २५ हजार योजना माग गर्न आएका थिए, सायद नजिकको सरकार भएकाले त्यो अवस्था आएको छ ।’

प्रदेशलाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले पञ्चवर्षीय योजनाको उद्देश्य पनि आत्मनिर्भरता नै केन्द्रित रहेको दाबी गरे । आवश्यकता आधारमा बजेट विनियोजनका लागि आयोजना बैंक स्थापनाको तयारी पनि भइरहेको उनले जनाए । गण्डकीमा हालसम्म ६३ ऐन र २२ नियमावली बनाएको मुख्यमन्त्री पाण्डेको तर्क छ । ३८ कानुन अझै बनाउ बाँकी रहेकोमा ५ वटा कानून निर्माणको अन्तिम चरणमा पुगेको उनले जनाए ।

पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँको थप पर्यटनको विकास गर्न पनि चैतभित्र पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने अन्तिम तयारी मुख्यमन्त्री पाण्डेले बताए । फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै अवैध भौतिक संरचना हटाउने विषयमा सर्वोच्च अदालतले दिएको निर्देशन पालना गर्ने उनले बताए । पोखरामा अन्तर्राष्ट्रिय विनमास्थल सञ्चालन गर्न गराउन संघीयसहित अन्य निकायसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

प्रदेश सरकार गठन भएको ६ वर्षमा जनताले अपेक्षा गरे अनुसारको धेरै काम गर्न नसके पनि केही कामको सुरुवात राम्रै भएको उनले जनाए । प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा पुँजीगत खर्च बढी हुने गरेको बताए । उनले राजस्व असुलीको आधारमा प्रदेशलाई अधिकार दिनुपर्ने माग गरे । अब गण्डकी प्रदेशले आफ्नो भूमिका लागि अन्य प्रदेश र संघीय सरकारसँग लड्नुपर्ने समय आएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्