महिला उद्यमीले तयार पारेका हस्तकला मेला

नेपाल हस्तकला महासंघद्वारा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला २०७४ काठमाडौंको त्रिदेवीमन्दिर परिसरमा शुक्रबारदेखि सुरु भएको छ । उक्त मेलामा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख हरि प्रभा खड्गीले उद्घाटन गरिन् ।
मेलाको उद्घाटन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला जस्तो मौलिक कला हरेक घरघर, गाउँगाउँमा सानो पुँजीबाट प्रायःजसो धेरै महिलाहरु संलग्न भई संचालन गरी रहेको हुदाँ हस्तकलाको विकास तथा प्रवद्र्धनले महिलाहरुको स्वतः सशक्तीकरण हुने बताए । उनले यस्ता मेलाबाट महिला उद्यमीलाई आफ्नो व्यवसायमा अझ अगाडि बढ्न प्रोत्साहन प्राप्त हुने पनि आशा गरे ।
नेपाल हस्तकला महासंघकी उपाध्यक्ष एवं उद्योग परिषद्की सभापति रत्नेश्वरी श्रेष्ठले मेलाबाट हस्तकला उद्योगमा संलग्न महिलाको सीप, क्षमता र परिश्रमद्वारा तयार पारिएका हस्तकलाका वस्तुलाई जनमानसमा प्रस्तुतीकरणमात्र नगरी महिला उद्यमीहरुलाई अगाडि बढ्न प्रोत्साहन पनि दिने बताइन् । उनले देशमा बेरोजगारी बढ्दै गएको अवस्थामा यस्ता मेला जस्ता प्रवद्र्धनात्मक कार्यक्रममार्फत महिलाहरुलाई थप रोजगारी सिर्जना गर्न र दक्ष महिला जनशक्ति तयार गर्न पनि मद्दत पुग्ने बताइन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक तेजसिंह बिष्टले केन्द्रलेपनि प्राकृतिक रेशाको वस्तुहरु तथा अरु हस्तकलाका वस्तुहरुको विकास र प्रवद्र्धन गर्न विदेशमा आयोजित व्यापार मेला प्रदर्शनीमा नेपाली उद्यमी व्यवसायीहरुको सहभागिताको व्यवस्थापन मिलाइ व्यापक रुपमा प्रचारप्रसार गरिरहेको बताए । उनले यो मेला व्यापारिक हब ठमेलमा आयोजना गरेकोले प्रस्तुतिकर्ताहरुले आफ्नो हस्तसीपबाट उत्पादित सामानहरुको प्रचारप्रसार गर्न धेरै भन्दा धेरै वस्तुको प्रस्तुति गर्नु पर्ने बताए ।