Logo

पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन आग्रह

काठमाडौं– नेपाल उद्योग परिसंघले चिनियाँ लगानी भित्र्याउन आग्रह गरेको छ । नेपालका लागि चिनियाँ राजदूत सोङ्बीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा भएको छलफलमा परिसंघले त्यस्तो आग्रह गरेको हो ।

मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहलको लागि आग्रह गरे । सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दे उनले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरुमा सुधार गर्न लागेको बताए ।

परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ । अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रवद्र्वनमा सहयोग गर्न आग्रह गरे । उनले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरे ।

सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) बीच व्यावसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे ।

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको संमृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन बृद्धिमा केन्द्रित गर्नुपर्ने बताए । त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने भन्दै उनले ऊर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमूलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए । दुई देशबीच व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरुको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्