धान धेरै फलाउने किसार्न सम्मानित
पाँचथर– पाँचथरको फाल्गुननन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाई बाजागाजासहित सम्मान गरेको छ । पालिकाले किसानलाई नौमती बजा र र्यालीसहित सोमबार सम्मान गरेको हो । पालिकाको जमिन बाँझो नहोस् भनेर कृषकलाई प्रोत्साहन गर्ने भन्दै गाउँपालिकाको नीति अनुसार धेरै धान फलाउने किसानहरुलाई सम्मान गरिएको थियो ।
फाल्गुननन्द–१ को लाप्चेबुङका मकरबहादुर तामाङले १६८ मुरी धान फलाएका थिए । आफ्नो जग्गा नभइ अरुको जग्गा अधिया, कुत तथा बन्धकी लगाएर उनले उक्त धान फलाएका हुन् । तामाङको आफ्नो नाममा दुई रोपनीमात्र खेत रहेको छ । ‘आफ्नो त दुई रोपनी जग्गा हो । निबुखोला–४ र लाप्चेबुङको एउटा खेतमा यति धेरै धान फल्यो । पालिकका सरहरु आएर भर्दा १६८ मुरी निस्कियो’ उनले भने,‘किसानलाई सरकारले पनि देख्दो रहेछ खुसी लाग्यो ।’
गाउँपालिकाको नीति अनुसार ५० मुरी भन्दामाथि धान फलाउने किसानलाई सम्मान कार्यक्रम गरिएको थियो । किसानहरुलाई माला लगाएर उचाल्दै, नचाउँदै बजार परिक्रमा गराइएको थियो । ५० मुरीदेखि माथि एक सय मुरीसम्म धान फलाउने किसानलाई ३० हजार रुपैयाँ नगद र १ सय मुरी भन्दामाथि फलाउनेलाई ५० हजार नगदसहित सम्मान गर्ने गाउँपालिकाले नीतिअघि सारेको थियो ।
दोस्रो धेरै धान फलाउनेमा फाल्गुननन्द–७ का गणेश चेम्जोङ रहेका छन् । उनले १२१ मुरी धान फलाएका थिए । यो सम्मानले कृषि क्षेत्रमा अझै काम गर्ने जोश बढेको उनको भनाइ छ । सोमबार गाउँपालिकाले २९ जना कृषकलाई सम्मान गरेको पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले जानकारी दिए । उनका अनुसार २७ जना ५० देखि १ सय मुरीको बीचमा धान फलाउने किसान रहेका छन् । ‘फाल्गुननन्दले कृषिलाई प्रमुख प्राथमिकतामा राखेको छ । ‘हामीले किसानलाई प्रोत्साहन गर्न खोजेका हौं । हाम्रो अझै धेरै कार्यक्रम रहेका छन,’अध्यक्ष आङदेम्बेले भने ।