Logo

विद्युत आयोजनामा निकुञ्जको अवरोध

९ आयोजनाको लाइसेन्स खारेज हुने अवस्थामा

काठमाडौं– राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले आयोजना अध्ययनका लागि सहमति नै नदिँदा करोडौं रोयल्टी तिरिसकेका आयोजनाको लाइसेन्स खारेज हुने अवस्था आएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा प्रभावित आयोजनाका प्रवद्र्धकहरुको टोलीले सोमबार वन तथा वातावरण सचिव दीपक खराललाई भेटेर यी आयोजनाको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

निकुञ्ज तथा संरक्षण क्षेत्रका कर्मचारीलाई कुनै कुरा चित्त नबुझेको भरमा प्रवद्र्धकलाई थुन्ने धम्की दिनु न्यायसंगत नभएको प्रवद्र्धक सिताराम तिमल्सिनाले बताए । ‘म ७५ वर्षको बूढोलाई राति घरमै आएर उठाउँछु भन्ने धम्की दिन्छन् । उनीहरुले बोलाएको बैठकमा तीन पुस्ता नै आउनुस् भन्छन्,’ तिमल्सिनाले सचिवसँग गुनासो पोखे, ‘हामीले त हाइड्रो बनाएको हो । देशलाई समृद्ध बनाउने अभियानमा लागेको हो । कुनै तस्करीको काम गरेको त होइन नि ।’

लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजनाका प्रवद्र्धक तथा इप्पानका सदस्य भरत पराजुलीले रुख तस्कर र जलविद्युत प्रवद्र्धकलाई हेर्ने दृष्टिकोण एउटै हुनु दुःखद् भएको बताए । ‘हामीलाई अपमानित महसुस भइरहेको छ । देशलाई समृद्ध बनाउने अभियानमा लागेका मान्छेलाई थुन्छु भनेर धम्की दिइएको छ । कमजोरी भएको भए करेक्सन गरौं । हामीले हाइड्रोपावर बनाएको हो, कुनै अपराध गरेको होइन,’ उनले भने ।

वरुण खोला जलविद्युत आयोजनाका प्रवद्र्धक तथा इप्पान सदस्य विजयमोहन भट्टराईले आयोजनाको क्षमता बढाउँछु भन्दा निकुञ्जले अनुमति नदिएको बताए । उनले वनमा पर्ने थप कुनै रुख नकाटी, कुनै संरचना नथपी २० मेगावाटको क्षमता बढाएर ३० मेगावाट बनाउन अनुमति माग्दा निकुञ्जले नदिएको जानकारी दिए ।

मध्य घुन्सा खोला जलविद्युत आयोजनाका प्रवद्र्धक पूर्णलाल श्रेष्ठले वनले अध्ययन सहमति नदिएमा ३ महिनापछि आयोजना अनुमतिपत्रको अवधि सकिएर खारेज हुने भएकाले आयोजना बचाउन पनि तुरुन्तै अध्ययन सहमति दिनुपर्ने बताए । यस्ता आयोजनाको अनुमति अवधि २ वर्ष थप गर्नका लागि ऊर्जा मन्त्रालयलाई सिफारिस गरिदिन इप्पानले वन सचिव खरालसँग आग्रह गरेको छ ।

ऊर्जा मन्त्रालयले अनुमतिपत्र जारी गरेपछि ५ वर्षदेखि वर्षेनि करोडौं रुपैयाँ रोयल्टी तिरिसकेको तर वनबाट अध्ययन सहमति नपाएकाले लाइसेन्स खारेज हुने अवस्था आएकाले यी आयोजनाको लाइसेन्स जोगाउन सचिवस्तरीय निर्णयबाट अध्ययन सहमति दिन अध्यक्ष कार्कीले आग्रह गरे । संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यविधि २०८० मा पानी छोड्नुपर्ने व्यवस्थालाई उल्ट्याएर क्युसेकबाट क्युमेक बनाउँदा धेरै आयोजना प्रभावित हुने हुँदा उक्त बुँदा हटाएर साविककै क्युसेक उल्लेख गर्न पनि कार्कीले आग्रह गरे ।

सचिव खरालले क्युसेकलाई क्युमेक बनाएको कुरा र २ वर्ष म्याद थप गर्ने कुरा सम्बोधन गर्न मिल्ने भए आफ्नो तर्फबाट सहजिकरण गर्ने प्रतिवद्धता जनाए । काम गर्नकै लागि आयोजनालाई अनुमतिपत्र दिएको भन्दै सचिव खरालले अध्ययन र निर्माणको क्रममा केही कमजोरी भएको भए त्यसलाई बसेर सुल्झाउनुपर्ने तर आयोजनाको काम रोकिन नहुने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।

निकुञ्ज तथा संरक्षण क्षेत्रमा परेका आयोजना
मिडिल घुन्सा जलविद्युत आयोजना– ३० मे.वा.
अप्पर पेल्मा खोला जलविद्युत आयाजना– २४.८ मे.वा.
गुम्चे खोला जलविद्युत आयोजना– ७.५ मे.वा.
घुन्सा खोला जलविद्युत आयोजना– १५५ मे.वा.
लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजना– ९.७ मे.वा.
यान्मा खोला जलविद्युत आयोजना– ६५.८ मे.वा.
सिम्बुवा खोला जलविद्युत आयोजना– ४० मे.वा.
लाङटाङ खोला जलविद्युत आयोजना– २० (३०) मे.वा.
अपर बरुण खोला जलविद्युत आयोजना– १०९ मे.वा.
कुल ९ आयोजना, ४६१ मेगावाट क्षमता

प्रतिक्रिया दिनुहोस्