डीडीसीका तत्कालीन महाप्रबन्धक विरुद्ध विशेष अदालतमा मुद्दा दायर «

डीडीसीका तत्कालीन महाप्रबन्धक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

♦ ठेक्का सम्झौता नै नगरी भ्रष्टाचार गरेको आरोप

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले दुग्ध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रा.लि.सँगको मिलेमतामा ठेक्का सम्झौता नै नगरी भ्रष्टाचार गरेको ठहरसहित उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन महाप्रबन्धक तिमल्सिनाबिरुद्ध ४६ लाख ७९ हजार १ सय ८२ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।
यस्तै, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्वरीप्रसाद अधिकारी, तत्कालीन बालाजुका दुग्ध वितरण आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक, माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत, राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत दिपक सुवेदीलाई पनि सोहि बराबरको बिगो माग दाबीसहित मुद्दा दायर गरेको छ ।
सुवेदी हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुखका रुपमा कार्यरत छन् । साथै, अख्तियारले गोकुल निर्माण सेवाका सञ्चालक गोकुल फुयाललाई २२ लाख १९ हजार तथा प्र्रभु आदित्य बिजनेश एण्ड कन्ट्रक्सन प्रा.लिका सञ्चालक दिपबहादुर खड्का, फणिन्द्रप्रसाद दाहाल र तत्कालीन सञ्चालक सतिसकुमार गिरीलाई २४ लाख ५९ हजार बिगो माग दावीसहित मुद्दा दायर गरेको जनाएको छ । उनीहरु १० जनालाई नै अख्तियारले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्